अनुमतिबिना झलनाथलाई लिन आन्तरिक एप्रोनमा गाडी प्रवेश, मन्त्री किराँती भन्छन्- उचित छानबिन हुन्छ – Nepal Press

अनुमतिबिना झलनाथलाई लिन आन्तरिक एप्रोनमा गाडी प्रवेश, मन्त्री किराँती भन्छन्- उचित छानबिन हुन्छ

'कानून सबैका लागि बराबर हुन्छ'

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अनुमतिबिना आन्तरिक एप्रोनसम्म गाडी लिन गएको विषयमा पर्यटनमन्त्री सुदन किराँतीले छानबिन गरिने बताएका छन् ।

उनले यो ‘नेशनल सेक्युरिटी’सँग जोडिएको गम्भीर इस्यु भएको बताउँदै यसबारे छानबिन गर्न निर्देशन दिइसकिएको बताए ।

‘घटना नघटुञ्जेल यो केही होइन घटिसकेपछि भयानक हुन्छ’, मन्त्री किराँतीले नेपाल प्रेससँग भने, ‘कानून सबैका लागि बराबर हुन्छ, को ठूलो को सानो भन्ने हुँदैन । यस विषयमा उचित छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिइसकिएको छ ।’

उनले विगतमा पनि एअर इन्डियाको इस्यु आउँदा सचिवहरु जेल जानुपरेको अवस्था रहेको बताए । यसलाई गम्भीररुपमा लिइएको बताउँदै इग्नोर गर्दा अहिले उठीरहेको भुटानी शरणार्थीहरुको इस्यु जस्तो बन्न सक्ने उनको भनाइ छ ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयलाई यस विषयमा सत्यतथ्य जानकारी गराउन स्पष्टिकरण सोधिसकेको छ ।

मंगलबार साँझ सवा ७ बजे पूर्वप्रधानमन्त्री खनाललाई लिन आन्तरिक एप्रोनसम्म अनुमतिबिना सवारी प्रवेश गरेको थियो । जबकी नेपाल राजपत्रको खण्ड ६४ साथै एनसीएएस्पी छैठौं संस्करण २०१९ को ७.९.५ अुनसार अनुमति लिनुपर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान पालना भए नभएको स्पष्ट खुलाई यथाशीघ्र पेश गर्न प्राधिकरणको वुधबारको निर्णयानुसार हवाई सुरक्षा विभागका निर्देशक बासुदेव भट्टराईले स्पष्टिकरण सोधेका छन् ।

‘मंगलबार ७ः१५ बजे पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लिन गएको सवारी साधन बिना अनुमति आन्तरिक एप्रोनसम्म प्रवेश गरेको पाइएको । सो सम्बन्धमा नेपाल राजपत्र (मिति ५ साउन २०७१) को खण्ड ६४ मा उल्लेख भए बमोजिमको प्रावधान पालना भए/नभएको स्पष्ट खुलाई यथाशिघ्र पेश गर्न अनुरोध छ’, स्पष्टिकरण सोधिएको पत्रमा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *