सार्वजनिक पदमा रहेकाले छाेराछाेरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने लिसंखुपाखरको निर्णय


सिन्धुपाल्चोक । सामुदायिक विद्यालयहरुमा विद्यार्थी घटिरहेको बेला सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबैले अनिवार्य रुपमा आफ्ना सन्तानहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित बनाउन र शैक्षिक गुणस्तरलाई माथि लैजाने उद्देश्यले सार्वजनिक पद धारण गरेका सबैले सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो ।
यो निर्णयअनुसार लिसंखुपाखर गाउँपालिकाका सबै जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरुले अब सात दिनभित्र आफ्ना छोरा-छोरीहरुलाई गाउँपालिका भित्रकै सामुदायिक विद्यालयहरुमा भर्ना गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिए ।
जनप्रतिनिधि, शिक्षक कर्मचारीहरुले आफ्ना सन्तानहरुलाई निजी विद्यालयमा पढाइरहेको सर्वत्र आलोचना भएपछि गाउँपालिकाले निर्णय गराएर नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सन्तान सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको अध्यक्ष लामाले बताए ।
‘मैले पनि मेरो छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा नै भर्ना गराएको छु’, अध्यक्ष लामाले भने, ‘अब सार्वजनिक पद धारण गरेका सबैले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै भर्ना गराउनु पर्छ ।’ गाउँपालिकाले गरेको यो निर्णय कडाइका साथ लागु गर्ने अध्यक्ष लामाले बताए ।
सार्वजनिक पदधारण गरेका सबैको सन्तान सात दिनभित्र साुमदायिक विद्यालयमा भर्ना गरेर त्यसको जानकारी गाउँपालिकालाई गर्न समेत सबै सनमुदायिक विद्यालयहरुलाई गाउँपालिकाले परिपत्र गरेको छ ।