संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा विभाजन: कुमार लिङ्देनलाई पदमुक्त गरेको दाबी गर्ने समूह र नागरिक उन्मुक्तिबीच पार्टी एकता – Nepal Press

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा विभाजन: कुमार लिङ्देनलाई पदमुक्त गरेको दाबी गर्ने समूह र नागरिक उन्मुक्तिबीच पार्टी एकता

विराटनगर । प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन भएको छ । धरानमा भएको तेस्रो महाधिवेशनपछिको विवाद उत्कर्ष पुगेपछि आन्दोलनकै बीचमा पार्टीमा विभाजन आएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङसहितका नेता तथा कार्यकर्ताहरूले पार्टी विभाजन गर्दै नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गरेका छन् ।

पार्टी विभाजन गरी नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्नेहरूमा पार्टीका महासचिव अशोक चेम्जोङ, प्रान्तीय उपाध्यक्षहरु इन्दिरा मेन्याङ्वो, एबी तुम्वाङ र दिलकुमार लावती, प्रान्तीय महासचिव शेसोहाङ चोङवाङलगायत पूर्वजिल्ला अध्यक्षहरू रहेका छन् ।

विराटनगरमा भएको पार्टी एकीकरणमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी भएकी छन् ।

पार्टी विभाजनभन्दा पनि पहिचान पक्षधरको बृहत शक्ति निर्माण गर्न आफूहरूले पार्टी एकीकरण गरेको ज्ञानबहादुर गुरुङले नेपाल प्रेसलाई बताए । उनले पार्टी एकीकरणले पहिचान पक्षधरहरू एक भएको बताए ।

नागरिक उन्मुक्तिसँग एकीकरण भएको मञ्चको असन्तुष्ट समूहले वैशाख १२ गते बैठक बसेर अध्यक्ष कुमार लिङ्देनलाई पदमुक्त गरेको भन्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ ।

वैशाख १७ गते निर्वाचन आयोगमा दिइएको निवेदनमा कुमार लिङ्देनलाई पदच्युत गरेको र लिङ्देनको स्थानमा अध्यक्ष ज्ञानबहादुर गुरुङलाई बनाइएको दाबी गरिएको छ ।

निर्वाचन आयोगमा दिएको निवेदनमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको वैशाख १२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णय १ र २ बमोजिम हाल आयोगमा अद्यावधिक रहेको पार्टीको विधानको परिच्छेद १४ को धारा ९७ को उपधारा ३ दफा (क) र (ग) बमोजिम तत्कालीन अध्यक्ष कुमार लिङदेनलाई पदमुक्त गरिएको छ ।’

अध्यक्षलाई पदमुक्त गरिएको हुनाले रिक्त अध्यक्ष पदमा विधानको परिच्छेद १० धारा ५५ को उपधारा २ बमोजिम उपाध्यक्ष ज्ञानबहादुर गुरुङलाई केन्द्रीय अध्यक्षमा चयन गरिएकाले आधिकारिकताका लागि यो पत्र पेस गरिएको निवेदनमा उल्लेख छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा धरानमा भएको तेस्रो महाधिवेशनपछि विवाद सुरु भएको थियो । सो अधिवेशनमा प्रतिनिधि नै नभएकालाई अध्यक्ष कुमार लिङ्देनले महिला उपाध्यक्ष बनाएको असन्तुष्ट समूहको आरोप थियो । यस्तै अध्यक्षले आर्थिक पारदर्शिता नदेखाएको, पार्टीको विधान केन्द्रीय समितिबाट पास नगरेकोसमेत आरोप लगाइएको छ ।

विवाद बढेपछि अध्यक्ष लिङ्देनले ८ जनालाई ४ महिनाअघि कारबाही गरेका थिए । उनले पार्टीको यूके कार्यसमितिका अध्यक्ष टङ्क खापुङ, पार्टीको सल्लाहकार चुणा तुम्बाहाम्फे, पदम चेम्वी मावो, भूपेन्द्र मावो, वसन्त चेम्वी मावो, चन्द्रराज आङ्देम्वेलगायतलाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर