डाटा हराएपछि लोक सेवा आयोगले पूर्वनिर्धारित परीक्षा सार्ने – Nepal Press

डाटा हराएपछि लोक सेवा आयोगले पूर्वनिर्धारित परीक्षा सार्ने

दस्तुर तिरिसकेकाले पुनः तिर्न नपर्ने गरी फेरि दरखास्त आह्वान गरिने

काठमाडौं । लोक सेवा आयोगले पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारी डाटा हराएपछि अयाोगले एक सूचना जारी गर्दै यस्तो तयारी थालिएको जनाएको हो ।

२०७१ देखि पब्लिक सर्भिस म्यानेजमेन्छ सिस्टमको अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको र त्यसबाट डाटा हराएकोले आयोगले पूर्वनिर्धारित परीक्षाहरु परिमार्जनबारे छलफल गरिरहेको प्रवक्ता एवम् सहसचिव तोयनारायण सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गत फागुन २३ गतेदेखि जीआइडीसीमा समस्या आएपछि डाटा हराएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास गरिरहेको तर हालसम्म कति रिकभर भएको वा हुनसक्नेबारे स्पष्ट जानकारी आयोगलाई नआएको विज्ञप्तिमा भनिएको छ ।

यसरी डाटा हराउँदा आयोगको गत मंसिरमा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिक र स्वास्थ्य सेवा तर्फको पाँचौं तहको विज्ञापनमा पेश भएका दरखास्ता आयोगसँग पहुँच उपलब्ध छैन ।

त्यसैले अब उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकोले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारहरुलाई मात्र उचित समय प्रदान गरी पुनः दरखास्त आह्वान गर्ने र यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा गएको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *