महानगरले फाेड्याे शिक्षा विभागकाे ताला, बालेनले भने- विद्यालयमा राजनीति गर्नु अपराध नै हाे – Nepal Press

महानगरले फाेड्याे शिक्षा विभागकाे ताला, बालेनले भने- विद्यालयमा राजनीति गर्नु अपराध नै हाे

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।

राति नै महानगरको नगरप्रहरीले ताला फोडेको मेयर बालेन साहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईले नेपालप्रेसलाई बताए ।महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।

‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो । भर्नाको नाममा अवैधानिक शुल्क उठाउने विरुद्ध कारबाही नगरेको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

‘शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिबाद गर्न चाहान्छ । हाम्रो संगठनले पट्क पट्क महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहित माग पत्र पेस गरेको थियो । विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा शैक्षिक माफीयासंग मिलेर विद्यार्थी संगठन बिरुद्ध आउनु दलाल पुजीवादी संसदीय व्यवस्था असफल भएको पुष्टि गर्दछ । अहिले शैक्षिक दलालहरुले सरकारी विद्यालय र संस्थागत विद्यालयहरुले चर्को शुल्क लिएका छन । भर्नाको नाममा ३००० देखि १००००० सम्म अबैधानिक रुपमा शुल्क अशुल्ने लगायत तमाम समस्या हुँदा महानगर कानमा तेल हालेर बसेको छ । बिगतमा हामिले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहन्छ ।’ क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संगठनका मागहरु प्रति गम्भीर र लगाएको ताला तोडिए संगठन थप संर्घष गर्ने बाध्य चेतावनी दिएको थियो ।

मेयर बालेन साहले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको  बताए ।

उनले भने,‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फाेरेर विफल पारेको हो । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *