१०० विकेटको सेलिब्रेसनमा भक्कानिए सन्दीप, ज्ञानेन्द्रले दिए हौसला (भिडिओ) – Nepal Press

१०० विकेटको सेलिब्रेसनमा भक्कानिए सन्दीप, ज्ञानेन्द्रले दिए हौसला (भिडिओ)

काठमाडौं । एकदिवसीय क्रिकेटमा छिटो १०० विकेट लिएर विश्व कीर्तिमान बनाएका स्पिनर सन्दीप लामिछानेलाई बधाई दिन नेपाल क्रिकेट संघ (क्यान)ले दुई दिनअघि सानो कार्यक्रम आयोजना गरेको थियो । खुशीको उत्सव मनाउन आयोजना गरिएको भए पनि कार्यक्रमको माहोल निकै भावुक बन्यो । जब सन्दीपले आफूलाई थाम्न सकेनन् ।

मूलपानीस्थित क्यानकै कार्यालयमा केक काट्ने र सन्दीपलाई उपहार दिने कार्यक्रम राखिएको थियो । राष्ट्रिय टीमका सबै खेलाडी र क्यानका अधिकारीहरु उपस्थित थिए । सुरुमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई १०० विकेटका लागि बधाई लेखिएको फोटोफ्रेम प्रदान गरे । उक्त फ्रेम लिँदै गर्दा सन्दीपले आफूलाई सम्हाल्न सकेनन् । उनी भक्कानिएपछि एकछिन सन्नाटा छाएको थियो ।

अध्यक्ष चन्दले सन्दीपलाई केक काट्न आग्रह गरे । सन्दीपले चाहिँ टीमका सिनियर खेलाडी ज्ञानेन्द्र मल्ललाई बोलाए । ‘ज्ञानु दाइ प्लीज’ भन्दै सन्दीपले बोलाएपछि मल्ल आए र सन्दीपको पीठ थप्थपाए । दुई पूर्वकप्तानको आपसी सहृदयतालाई सबैले ताली बजाएर स्वागत गरे ।

केक काट्नुअघि सन्दीपले केही बोल्न खोजेका थिए । तर, उनको गला अवरुद्ध भयो ।

‘सबैलाई धन्यवाद । त्यो फेजबाट आएर यसरी आफ्नो ठाउँबाट…’ सन्दीपले यतिमात्रै बोल्न सके । त्यसपछि उनले आँसु पुछ्दै केक काटे ।

सन्दीपले पहिलो केक मल्ललाई नै खुवाउन खोजेका थिए । तर, मल्लले क्यान अध्यक्ष चन्दलाई खुवाउन आग्रह गरे । सन्दीपले पनि त्यही गरे । त्यसपछि उनले सबैलाई केक खुवाए ।

उक्त कार्यक्रमको भिडियो नेपाल क्रिकेट संघले आफ्नो युट्युब च्यानलमा हिजो अपलोड गरेको छ । सन्दीपले अग्रज खेलाडीप्रति दर्शाएको सम्मान र ज्ञानेन्द्रले सन्दीपप्रति दर्शाएको मायालाई क्रिकेट फ्यानहरुले खुलेर प्रशंसा गरेका छन् ।

स्मरणीय छ, विगतमा ज्ञानेन्द्र र सन्दीपको आपसी सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेका थिए । क्यानले ज्ञानेन्द्रलाई कारबाही गर्दै कप्तानबाट हटाएर सन्दीपलाई नयाँ कप्तान बनाएको थियो । त्यसपछि ज्ञानेन्द्र र सन्दीपबीच सम्बन्ध चिसिएको चर्चा हुने गर्थ्यो । तर, हिजोको कार्यक्रममा उनीहरुले सबै पुराना तुषहरु बिर्सेर सहृदयता देखाएका छन् ।

सन्दीप यतिबेला कठिन समयबाट गुज्रिरहेका छन् । अदालतमा परेको मुद्दा उनका लागि घाँटीमा झुण्डिएको तरवारसरह बनेको छ । केही समय उनी जेलसमेत बसे । उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएपछि सन्दीप राष्ट्रिय क्रिकेट टीममा समावेश हुन पाएका हुन् । क्यानबाट सम्मान पाउँदा उनी भावविह्वल हुनुको कारण पनि सम्भवतः त्यही प्रकरणले पैदा गरेको मानसिक तनाव नै हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर