कांग्रेस प्रवक्ताले नै पार्टीका उम्मेदवारलाई मत नमागेको उपचुनाव ! – Nepal Press

कांग्रेस प्रवक्ताले नै पार्टीका उम्मेदवारलाई मत नमागेको उपचुनाव !

काठमाडौं । उपनिर्वाचनमा कांग्रेस पराजित भएपछि गगन थापाको सचिवालयमा कार्यरत राघवकृष्ण गौतमले सार्वजनिकरूपमै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको भूमिकामाथि प्रश्न उठाए ।

पार्टी प्रवक्ताको कब्जामा हुने फेसबुक पेज चुनावको बेला नचलाइएको भन्दै उनीमाथि कारबाहीको माग गरे । गौतमसहित गगनको सचिवालयको कोर टीम गोविन्द भट्टराईको चुनाव अभियानमा दमौलीमा खटिएको थियो ।

कांग्रेस केन्द्रीय प्रचार विभागले उपनिर्वाचनको लागि कुनै प्रचार टीम नबनाएपछि गगन थापाको सामाजिक सञ्जाल सञ्चालन टीमदेखि विज्ञहरूको समूह नै दमौलीमा खटिएको थियो । जसलाई लक्षित गर्दै स्वर्णिम वाग्लेले कांग्रेसका एकजना युवा नेताले १० जना साइबर सेना पठाएको र उनीहरू आफू बसेकै घरमा रहेको टिप्पणी गरेका थिए ।

उपचुनावको पराजयपछि दलहरूभित्रै एकले अर्कोमाथि आरोप लगाउने प्रचलन सामान्य हो । अहिलेको पराजयलाई कांग्रेसभित्रै गगन थापा र विश्वप्रकाशहरूको हैसियत मापनका रूपमा समेत अर्को पक्षले टिप्पणी गरिररहेको छ ।

तर, कांग्रेसका संस्थागतरूपमै उठेको प्रश्न चाहिँ उपनिर्वाचनमा पार्टी प्रवक्ता तथा प्रचार प्रसार विभाग कहाँ थियो ? भन्ने हो । मंसिर ४ को निर्वाचनमा कांग्रेसले प्रचार विभाग प्रमुख डा. महतको नेतृत्वमा देशभर प्रचार प्रसार टीम बनाएका थियो ।

तर, यसपटक भने प्रचार विभागको एकपटक बैठक समेत नबोलाइएको र कसैलाई केही जिम्मेवारी नतोकी प्रवक्ता आफैँ गायब भएको आरोप प्रेस युनियनका नेताहरूको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको टोली स्वयंसेवीरूपमा खटिएको थियो ।

युनियनका एक पदाधिकारीले भने, ‘उपनिर्वाचनको अवधिभर कांग्रेस प्रवक्ताले कुनै दिन कांग्रेसका उम्मेदवारका लागि भोट मागेनन् । उनलाई गत मंसिरमै निर्वाचन प्रचार प्रसारसमेतको जिम्मेवारी थियो । उपनिर्वाचनमा त्यो भूमिका देखिएन । अर्थमन्त्री भएकाले भोट नमागेको भनौं भने प्रधानमन्त्री नै चुनावी सभा गरेर हिँडेका थिए । यो विषय भित्रभित्रै निकै चर्किएको छ ।

कांग्रेसको आधिकारिक फेसबुक पेजबाट चितवन र तनहुँको एक-एकवटा सभा लाइभ हुनेबाहेक कुनै आकर्षक प्रचार नगरिएको र मत माग्न सोसल मिडियामा पोस्टसमेत नराखिएको आरोप छ । फेसबुक पेजसमेत नदिएर डा. महतले अविश्वास गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।

त्यसो त कांग्रेसको आधिकारिक फेसबुक पेजको क्याटेगोरी पनि मिलेको छैन । पोलिटकल अर्गनाइजेसन हुनुपर्नेमा स्पोर्टस एण्ड रिक्रियसन भनेर राखिएको छ ।

यसअघि प्रचार प्रसार कमिटीमा बसेर काम गरेका कांग्रेसका एक नेताले भने, ‘कांग्रेस प्रवक्ताको आधिकारिक फेसबुकमा यो अवधिमा कांग्रेसको पक्षमा मत मागेको कुनै पोष्ट छैन । मन्त्री भएर नमिलेको हो भन्ने हो भने प्रधानमन्त्री आफैँ भोट माग्न हिडेका थिए । उहाँलाई अप्ठेरो भएको हो भने प्रवक्ता पद त्याग्दा राम्रो हुन्छ, होइन भने सभापति हटाउनुपर्छ ।

कांग्रेसले तनहुँ र चितवनका उप चुनाव हुने सबै वडामा केन्द्रीय प्रतिनिधि खटाएको थियो । तर, ती प्रतिनिधि पुग्दा झन् डिस्टर्ब भएको रिपोर्टसमेत आएको छ । उनीहरूसँग गएकाहरूले टिकटक बनाउने र आन्तरिक पर्यटन बढाउनेबाहेक पार्टीको पक्षमा माहौल बनाउन काम नभएको प्रारम्भिक समीक्षा छ ।

कांग्रेस स्रोतकाअनुसार डा. महत अर्थमन्त्रीसमेत भइसकेको अवस्थामा प्रवक्ताको जिम्मेवारी फेर्न देउवामाथि उनकै समूहबाट पनि दबाब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर