४७२ रनको लक्ष्य दिएको खेलमा यूएईले सिंगापुरलाई २०१ रनले हरायो – Nepal Press

४७२ रनको लक्ष्य दिएको खेलमा यूएईले सिंगापुरलाई २०१ रनले हरायो

काठमाडौं । कप्तान मोहमद वासिम र शीर्ष क्रमका ब्याटर भृत्य अर्विन्दको शतकमा सिंगापुरलाई ४ सय ७२ रनको लक्ष्य दिएको खेलमा यूएईले २ सय १ रनले पराजित गरेको छ ।

एसीसी प्रिमियर कपअन्तर्गत समूह बीको खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै ४ सय ७१ रनको योगफल तयार पारेको थियो । जवाफमा सिंगापुरले ५० ओभरमा २ सय ७० रनमात्रै बनायो ।

सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६४ रन जोडे । उनले ६४ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । कप्तान अरित्र दत्त र सुरेन्द्रन चन्द्रमोहन समान ३८ रनमा आउट हुँदा थिलिपन माइदुराईले ५२ रन जोडे ।

यूएईका आयान अफजल खान, कार्तिक मैयाम्पन र सन्चित शर्माले समान दुई विकेट लिँदा । जुनाइद सिद्दीक, रोहन मुस्तफा र जाहुर खानले एक-एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको यूएईका लागि ओपरन वासिमले ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनको विष्फोटक इनिङ खेलेर आउट भए । आर्यान लाक्रा १२ रनमा आउट भएपछि क्रिजमा आएका भृत्य सर्वाधिक १ सय ७४ रन बनाएर आउट भए ।

कालिमुथुको बलमा क्याचआउट हुनुअघि उनले, १ सय ३३ बल खेल्दै १७ चौका र ७ छक्का प्रहार गरे । जारी प्रतियोगितामा यो भृत्यको दोस्रो शतक हो । यसअघि, उनले आफ्नो पहिलो खेलमा कुवेतविरुद्ध शतक बनाएका थिए ।

आयान अफजल खानले बिष्फोटक अर्धशतीय इनिङ खेलेर आउट भए । उनले ५० बल खेल्दा ९ चौका र ३ छक्काको मद्दत लिँदै ७४ रन योगदान गरे । आसिफ खान ११ रनमा आउट हुँदा, सन्चित शर्मा १६ रनमा अविजित रहे ।

समूह बीअन्तर्गतको खेलमा यूएईले ३ मध्य २ खेल जित्दै ४ अंक जोडेको छ । यो जितसँगै यूएईले पनि सेमिफाइनल सम्भावना बलियो बनाएको छ । यदी समूहको दोस्रो स्थानमा रहेर सेमिफाइनल यूएई पुग्यो र नेपाल समूह ए को बिजेता बन्यो भने सेमिफाइनलमा नेपाल र यूएई भिड्नेछन् ।

समूह बीको शिर्ष स्थानमा हङकङ रहेको छ । यूएईले अन्तिम खेलमा बहराइनसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर