सरस्वतीनगर हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो – Nepal Press

सरस्वतीनगर हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो

काठमाडौं । बिहीबार अर्थात मातातीर्थ औंशीको बिहान ९ बजे । उनले आमालाई सम्झिइन् र फेसबुक स्ट्याटस लेखिन्, ‘मेरी आमालाई यो संसारको सारा खुशी मिलोस्, अनि मलाई हरेक जन्ममा उहाँकै यो काख ❤️❤️happy mother’s day 🙏🏻’

आमासँग अर्को जन्मको ‘काख’ का लागि प्रार्थना गर्ने नीरा पाण्डे यस्तो लेखेको ६ घण्टापछि अर्थात् दिउँसो ३ बजे सरस्वतीनगरस्थित आफ्नै पसलको काउन्टरमा बोराले छोपिएको अवस्थामा फेला परिन् । बोरा उघार्दा शरीर रगताम्य थियोे । प्राण थिएन ।

त्यहाँ भाडा पसल सञ्चालन गर्ने उनले आफ्नो पसलमा लामखुट्टे तथा कीरा धपाउने ब्याट आएको प्रचार गर्न दिउँसो १२ बजे एउटा टिकटक बनाइन् । त्यसलाई फेसबुकबाट पनि शेयर गरिन् । भनेकी थिइन्, ‘ब्याट चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला ।’

ब्याट कति बिक्री भयो ? त्यसको हिसाब छैन । बरु, कोही आततायी हतियारधारी त्यहाँ पुग्छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार दिउँसो २ः३० देखि ३ बजेको बीचमा उनी धारिलो हतियारको शिकार हुन्छिन् । न चिच्याउन सकिन् न त अरु कुनै किसिमले प्रतिवाद नै गर्न सकिन् । उनी यसरी मारिइन् कि वरिपरिका कुनै पसलेले केही चाल पाएनन् । ३ बजे आसपासमा उनकी एकजना महिला साथी पसलमा पुग्दा नीरालाई बोलाइन्, तर उनी बोलिनन् । हेर्दा उनी बस्ने गरेको काउण्टरमा बोरा देखिन् । मान्छे नबोलेपछि साथीले परैबाट बोरालाई नियालेर हेरिन् । त्यहाँ रगत जमे जस्तो देखेपछि अत्तालिइन् र वरिपरिका मान्छेलाई बोलाइन् । यसपछि बल्ल प्रहरीलाई खबर भयो, टोली पनि पुग्यो । प्रहरीले स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लग्यो । त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरे ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार हतियारधारीले नीराको घाँटीदेखि तिघ्रासम्म छुराले १८ भन्दा बढी ठाउँमा घोचेका छन् । अर्थात् ठूलै प्रतिशोध साँध्नका लागि शरीरका विभिन्न भागमा घोचीघोची मारिएको छ ।

ती प्रहरी भन्छन्, ‘अरु घटनामा छुराले हान्दा कि घाँटी रेट्ने, कि छातीमा हानेर मुटु अवरुद्ध पार्ने गरिन्थ्यो । यो घटना त्यस्तो छैन ।’

चक्कुले जहाँ-जहाँ घोचिएको छ, त्यहाँ-त्यहाँबाट अत्यधिक रक्तश्राव भएको उनले बताए । त्यसैले उनको हत्यामा संलग्न व्यक्ति निपूण अपराधी (सार्प क्रिमिनल) हुनुपर्ने अनुमान प्रहरीको छ ।

‘शरीरको कुन भागमा प्वाल पार्दा बढी रगत निस्कन्छ भन्ने कुरा जानेको मान्छेले यो काम गरेको छ’, उनले भने, ‘मान्छेलाई खसी काटेजस्तो हैन, कुभिण्डो प्वाल पारेजसरी मार्ने काम भएको छ ।’

हत्याका क्रममा हत्या गरिने व्यक्तिबाट हुने प्रतिवाद वा चिच्याहट जस्ता कुरालाई नियन्त्रणमा लिन उनको मुखलाई बेस्सरी थुनिएको अनुमान गरिएको छ । ‘एकजनाले मुख छोपेर, अर्कोले छुरा हानेको हो कि भन्ने बुझिन्छ’, प्रहरी भन्छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आइसकेको छैन ।

कसुरदार को हो भन्ने कुरा शुक्रबारसम्म निर्क्योल नभए पनि सामान्य झैं-झगडा वा कारणले यो घटना भएको विश्वास प्रहरीलाई छैन । हत्याका क्रममा पसलमा रहेको नगद वा जिन्सीमाथि कुनै क्षति पुर्‍याइएको छैन । त्यसैले आर्थिक विषयसँग सम्बन्धित घटना नहुनुपर्ने अनुसन्धानकर्मीको अनुमान छ ।

हत्यामा प्रयोग गरिएका व्यक्ति, हत्यापूर्व उनीहरुले अपनाएको सावधानी र हत्या कार्यको शैली हेर्दा उक्त घटना कुनै सामान्य कारणले नभएको उनीहरु बताउँछन् । किनभने घटना हुनुभन्दा केही समय अगाडिदेखि पसलमा रहेको सीसीटीभी बन्द भएको छ । सडकमा जडान गरिएको सीसीटीभीमा उक्त पसलको दृश्य देखिँदैन । त्यसपछि प्रहरीले घटनास्थल वरपरका अन्य घर तथा पसलका सीसीटीभी फुटेज संकलन गरेको छ ।

घटनास्थल अर्थात् भाडा पसल मूल सडकसँगै जोडिए पनि पसलको भित्री भाग लामो छ । काउन्टर पनि भित्रै छ । भित्रका दृश्य वा गतिविधि मूल सडकबाट झट्ट देखिनेखालको नभएका कारण वरपर होहल्ला हुन नपाएको अनुसन्धानरत प्रहरीको अनुमान छ ।

नीराको सरस्वतीनगरमा दुइटा पसल थियो । घटना भएको पसलमा उनी नियमित बस्ने गर्थिन् । पछि खोलिएको पसल रिलायान्स कलेजको अगाडि, देवदर्शन फार्मेसीसँगै छ, जहाँ उनका श्रीमान् योगेश आचार्य बस्थे । बिहीबार घटना हुँदा पनि पति योगेश त्यही पसलमा थिए । नीराले भन्दा पहिला इलेक्ट्रोनिक्स सामानको पसलमा उनको माइती खलक संलग्न थिए । सुकेधारामा उनका दाइको एलजीको इलेक्ट्रोनिक्स सामानको पसल छ भने कपनमा उनकी भाउजूले पसल चलाएकी छन् ।

नीराका पति योगेश आचार्य बाग्लुङको बडिगाड गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनको माइत अर्घाखाँची हो । उनीहरुको एक नाबालक छोरी छन् । सरस्वतीनगरमा उनीहरुले भाडा तथा इलेक्ट्रोनिक्स पसल चलाउन थालेको १० वर्षभन्दा बढी भयो । नीराले आफ्नो बोलाइने नाम ‘निरु’ बाट सुरु गरेको व्यवसायले छोटो समयमै मुनाफा दिएपछि केही वर्षदेखि अर्को पसल पनि सञ्चालन गरिएको स्थानीय बताउँछन् ।

नीराको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । प्रहरी वृत्त बौद्धका डीएसपी हरि बस्नेतका अनुसार उक्त घटनाका विषयमा अनेक अनुमानहरु गरिए पनि पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्ने अवस्था नरहेको बताए । घटनाको कारण र शैलीबारे स्थानीयवासीका विभिन्न अनुमान सुनिए पनि सत्यतथ्य छिट्टै पत्ता लाग्ने उनको भनाइ छ ।

घटनाको अनुसन्धान गर्न प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले एसपी रवीन्द्र रेग्मीको संयोजकत्वमा टोली खटाएको छ । जिल्ला प्रहरी परिसर टेकुले इन्स्पेक्टर राजन लामाको नेतृत्वमा अनुसन्धान गरिरहेको छ ।

‘हामी सबै कोणबाट अनुसन्धान गर्दैछौं, छिट्टै निष्कर्षमा पुग्छौं’, एसपी रेग्मीले भने, ‘अहिलेसम्म हामी तथ्य र प्रमाणहरुको संकलनमै छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *