निजी क्षेत्रलाई अख्तियारले हेर्ने कानून बनाउन लागेकोमा महासंघका अध्यक्षको विरोध – Nepal Press

निजी क्षेत्रलाई अख्तियारले हेर्ने कानून बनाउन लागेकोमा महासंघका अध्यक्षको विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र भित्र निजी क्षेत्र पर्न नहुनेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस संसदीय दलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउँदा लगानी निरुत्साहित हुने बताए ।

अध्यक्ष ढकालले राष्टिय सभाबाट प्रतिनिधि सभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमा भएको बैंक वित्तिय संस्था, पब्लिक कम्पनी, अस्पताल आदिलाई अख्तियारको दायरा ल्याउने व्यवस्था हटाउन माग गरेका हुन् ।

सोही कार्यक्रममा पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको धारा २३९ अनुसार अख्तियार प्राप्त व्यक्तिमात्रै अख्तियारको दायरामा आउने हुँदा निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नसक्ने बताए । यो व्यवस्था संशोधन नभए निजी क्षेत्र निरुत्साहित हुने र लगानीको वातावरण बिग्रिने बताए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद वढुले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने तर नियामक निकायलाई भने बलियो बनाउन सकिने बताए । उनले यो व्यवस्था संसोधनका लागि पार्टिले पहल गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसदहरु हृदयराम थानी, वीर वहादुर बलायर, दिपक गिरी, सुनिल शर्मा लगायतले पनि निजी क्षेत्र अख्तियारको दायरामा नपर्ने हुँदा संसोधन आवश्यक रहेको धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर