दाइजोको निहुँमा पति, सासू-ससुरा र देवर मिलेर एक महिलामाथि आगो लगाई हत्या प्रयास (भिडिओ) – Nepal Press

दाइजोको निहुँमा पति, सासू-ससुरा र देवर मिलेर एक महिलामाथि आगो लगाई हत्या प्रयास (भिडिओ)

जनकपुरधाम । दाइजोको निहुँमा एक महिलालाई श्रीमान्, ससुरा, सासु र देवरले आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेका हुन् ।

स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । छातीको तल्लो भागदेखि तिघ्रासम्म जलेको उनी उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना भएपछि घटना सार्वजनिक भएको हो । अस्पतालको वर्न कक्षमा उनी दुई दिनदेखि उपचाररत छिन् ।

वैशाख १ मै स्वेतामाथि आगो झोसिएको थियो । तर, घटना बाहिरिने डरले उनका श्रीमान्‌ले घरमै थुनेर राखेका थिए ।

स्वेताको माइत भारत विहार राज्यको दरभंगा जिल्लामा पर्ने कोठिया हो । काम विशेषले उनका बुबा जयकुमार झा आएपछि बल्ल छोरीलाई आगो लगाएर मार्ने प्रयास भएको थाहा पाएका थिए ।

उनले छोरी स्वेतालाई तत्कालै उपचारका लागि दरभंगा लगे । त्यहाँ उपचार गराएपछि घटनामा संलग्नहरूमाथि कारबाहीका लागि जनकपुरधाम फर्केका थिए ।

स्वेताका बुवा भन्छन्, ‘छोरीलाई मार्ने प्रयास गर्नेहरूलाई कारबाहीका लागि वकिलहरूसँग सल्लाह गर्दा यहाँको अस्पतालमा उपचार गराउन भनेअनुसार जानकी हेल्थ केयरमा भर्ना गरेँ । तर, पछि सरकारी अस्पतालमा उपचार गराउनुपर्ने सल्लाह दिएपछि प्रादेशिक अस्पतालमा लग्यौं ।’

स्वेता र राजीवबीच १० वर्ष अगाडि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाहलगत्तै राजीव वैदेशिक रोजगारका लागि गएपछि स्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् ।

स्वेता भन्छिन्, ‘उहाँ (श्रीमान्) विदेश गएपछि म माइतमै बसे । एक रूपैयाँ कहिल्यै दिएनन् । सबै खर्च मेरो बुबाले नै तिर्नुहुन्थ्यो ।’ विदेशबाट फर्केपछि तीन तोला चाँदीका लागि पटक-पटक यातना दिएको उनले सुनाइन् ।

‘कति यातना खेपेको छु’, भावुक हुँदै उनले भनिन्, ‘वैशाख १ गते ससुरा र देवरले समात्यो, अनि श्रमान्‌ले आगो लगायो ।’

घरमै मारिदिन्छु, भारतबाट को आउँछन् तिमीलाई बचाउन भन्दै मोवाइल समेत खोसेको र उपचार गराउन समेत नलगेको उनले पीडा पोखिन् ।

उनका एक छोरी र एक छोरा छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको स्वेताले बताइन् ।

उनी भन्छिन्, ‘मलाई मार्न खोज्नेहरूमाथि काराबाही हुनुपर्छ । छोराछोरीले हक पाउनुपर्छ ।’

यो घटनामा धनुषा प्रहरी अनभिज्ञ छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले अनौपचारिक रूपमा घटनाबारे थाहा पाएको र यथार्थ बुझ्ने प्रयास गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *