आन्तरिक राजस्व विभाग प्रमुखहरुलाई अर्थमन्त्रीको निर्देशन : राजस्व बढाउन कुनै कसर बाँकी नराख्नुस् – Nepal Press

आन्तरिक राजस्व विभाग प्रमुखहरुलाई अर्थमन्त्रीको निर्देशन : राजस्व बढाउन कुनै कसर बाँकी नराख्नुस्

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । यस पटक राजस्व निक्कै कम संकलन भएकोले त्यसलाई बढाउने गरी काम गर्न उनले निर्देशन दिए ।

बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले भने, ‘हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’

यद्यपी उनले राजस्वमा कमी आउनुमा राजस्वका कर्मचारीको मात्रै दोष नभइ राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारण भएको पनि बताए । अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरुको मूल्यांकन हुने महतले बताए ।

‘काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन’, उनी भने ।

बजारको प्रभाबकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र ईमानदारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिबेदनमा देखाएका कुराहरुलाई गंभिरता पूर्वक लिन जरुरी छ । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु होला ।

झन्डै ४४ प्रतिशत राजस्व ठूला करदाताबाट राजस्व आउँछ । गत वर्षको तुलनामा अहिले ठूला करदाताबाट पनि राजस्व कम संकलन भएको छ । पछिल्लो समयमा ठूला व्यवसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन् तर साना व्यवसायी धेरै प्रभावित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर