गण्डकीका राप्रपा मन्त्री गुरुङको १०० दिन अनुभव : प्रदेश सरकार चाहिँदै नचाहिने रहेछ – Nepal Press

गण्डकीका राप्रपा मन्त्री गुरुङको १०० दिन अनुभव : प्रदेश सरकार चाहिँदै नचाहिने रहेछ

पोखरा । गण्डकी प्रदेश सरकार गठन भएको १०० दिन पूरा भएको छ । पुस २५ गते एमाले नेता खगराज अधिकारीको नेतृत्वमा बनेको सरकारको मंगलबार १०० दिन पुरा भएको हो ।

१०० दिन पूरा भएको अवसरमा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले १०० दिनको प्रगती विवरण सार्वजनिक गरेका छन् ।

उनले मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले सरकार र जनताबिच ठूलो दुरी रहेको महशुस गरेको बताए । उनले प्रदेश सरकारलाई अंकुश लगाउने काम भएको स्पष्ट पारे ।

‘भगवान्को मन्दिरअगाडि, मूर्ति राखेर सत्यसत्य बोल्नुस् भनेर माननीय र नेताज्यूलाई सोध्दा अनुभव नभएकाले संघीयता ठिक छ भन्ला । तर, जसले कुसीमा बसेर अनुभव लियो ती साथीले पनि राप्रपाले लिएको सिद्धान्त ठिकै रहेछ भनेर भन्छ । किन ? हामीलाई प्रदेश सरकारलाई अंकुश लगाउने काम भएको छ । हरेक कुरा केन्द्रसँग आत्मनिर्भर हुनुपर्छ । हरेक कुरा केन्द्रको आदेश चाहिन्छ । हरेक कुरा केन्द्रको भनाइबिना काम गर्न सक्दैनौँ भने किन झुण्डिएर बस्ने ?,’ मन्त्री गुरुङले प्रश्न गरे ।

आफुले सरकारमा आएर प्रदेश सरकार खर्चिलो भएको छर्लंग भएको बताए । उनले भने, ‘पार्टीको विचार र सिद्धान्तलाई लिएर चयन भएँ । सरकारमा सहभागी भएँ । राप्रपाले प्रदेश खारेजीको माग गर्छ सर्वविदितै छ । सरकारमा आएर मैले छर्लङ्ग बुझेँ । खर्चिलो हो भन्ने बुझेको थिएँ । के कारणले खर्चिलो हो, यो कुर्सीमा बसेर थाहा पाएँ ।’

मन्त्री गुरुङले प्रदेश खारेज गरेर उक्त रकम शिक्षा, स्वास्थ्यमा लगानी गर्न सके देशको विकास छिटो हुने उल्लेख गरे ।

‘स्थानीय सरकारसँग गएर काम गर्न, हस्तक्षेप गर्न सक्दैनौँ । त्यहाँ हाम्रो भूमिका हुँदैन । केन्द्रमा पनि त्यस्तै भने बीचमा मगन्ते सरकार किन राख्ने ?,’ उनले भने, ‘आफ्नो बजेट, आयआर्जन केही छैन । हामी गण्डकी प्रदेशको हिसाब गर्ने हो भने १२ देखि १३ प्रतिशत रहेछ । हामी ८७ प्रतिशत केन्द्र सरकारको भर पर्नुपर्छ । झण्डा हल्लाएर हिँड्न कति छ खर्च ? हिसाब गर्दा अर्ब आउँछ । त्यो पैसा शिक्षा, स्वास्थ्यमा लगानी गर्ने हो भने देश छिटो विकास हुन्छ ।’

स्थानीय सरकार प्रयाप्त अधिकार हुने हो भने प्रदेश सरकार नभए पनि हुने उनले जिकीर गरे ‘हामी आफैँ आर्थिक रूपमा कमजोर छौँ । यो बजेट खर्च गरेर पालिराख्नु पर्छजस्तो मलाई लाग्दैन । किनभने हाम्रो देशको क्षेत्रफल हेर्ने हो भने पूर्वदेखि पश्चिमसम्म हवाई जहाजमा एक घण्टामा वारपार, उत्तर–दक्षिण आधार घण्टामा वारपार गर्न सक्छौँ । एक दिनमै पूर्वबाट पश्चिम, उत्तरदेखि दक्षिण पुग्न सक्छौँ,’ मन्त्री गुरुङले भने, ‘यत्रो सानो देशमा केन्द्र सरकारले स्थानीय सरकारलाई हक–अधिकार दिने हो भने बलियो स्थानीय सरकार हुने हो भने प्रदेश सरकार नभए पनि हुन्छ । खर्चिलो, खर्चै धान्न सक्दैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर