देवेन्द्र पौडेलको सुझाव- बैंकमा जम्मा ५५ खर्बलाई उद्योगमा परिचालन गरौं (भिडिओ) – Nepal Press

देवेन्द्र पौडेलको सुझाव- बैंकमा जम्मा ५५ खर्बलाई उद्योगमा परिचालन गरौं (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले बैंकमा जम्मा भएर बसेका रकमलाई उद्योगमा लगानी गरी रोजगारी सिर्जना गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको उल्लेख गर्दै सो रकम देशका रुग्ण उद्योगहरुमा परिचालन गर्नुपर्ने बताएका हुन् ।

उनले अप्ठ्यारोमा परेका उद्योगहरुमा सो रकम परिचालन गरी रोजगारी सिर्जना गर्न माग गरे । त्यस्तै, उनले देशमा ४० लाख खोप प्रयोगबिहीन अवस्थामा रहेको भन्दै प्रयोगविहीन भएको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताएका हुन् ।

भिडिओ

‘बैंकमा ५५ खर्ब रुपैयाँ जम्मा भएको समाचार सार्वजनिक भएको छ । खुशीको कुरा हो । ५५ खर्ब रकम भनेको नेपाल सरकारले औसत ३ पटक प्रश्तुत गर्ने बराबरको बजेट हो । त्यो रकम बैंकमा जम्मा भएर बसेको छ’, उनले भने, ‘त्यो रकमलाई छिट्टै देशका रुग्ण भएका, अपm्ठ्यारोमा परेका उद्योगहरुलाई परिचालन गरी रोजगार सिर्जना गर्नेगरी प्रधानमन्त्रीले गरेका घोषणा अनुसार अगाडी बढाइयोस् ।’

पौडेलले चालिस लाख खोप प्रयोग नभएको भनेर समाचार आएको र त्यो खोप प्राविधिक हिसावले नमिल्ने भएर प्रयोग नभएको हो कि, हाम्रो लापरबाहीको कारणले प्रयोग नभएको हो भन्नेबारे छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।

‘अर्को राम्रो समाचार आएको छ विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे, दुर्गम ठाउँमा किताबहरु पुगे भन्ने समाचार राम्रो हो । त्यसैगरी हस्पिटलमा इमर्जेन्सी उपचार गर्न गएको बिरामीले पनि राम्रोसँग उपचार गर्न पाएको कुरा सम्बन्धित निकायबाट अनुगमन गरेर सुरुवात गरियोस् र सुन्न पाउँ’, सांसद पौडेलले भने, ‘त्यसैगरी किसानले पनि समयमै कृषि प्रक्रिया शुरुवात गर्नुभन्दा पहिला मल प्राप्त गर्ने र राज्यको तर्फबाट यस प्रकारका अत्यावश्यक वस्तुहरुको व्यवस्थापन भएको कुरा खुशी साथ बाहिर आओस् ।’

सांसद पौडेलले यस वर्ष विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउनु राम्रो भएको उल्लेख गर्दै यसैगरी अस्पतालहरुमा पनि बिरामीले आकस्मिक उपचार पाउनुपर्ने बताए । उनले किसानले समयमै मल पाउनुपर्ने पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर