धिरजको ‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको साथ – Nepal Press

धिरजको ‘आई एम ट्वान्टी वान’लाई अनमोल र प्रदीपको साथ

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुबिच एकता छैन भनिन्छ । एक अर्कालाई सहयोग गर्ने परिपाटी नबन्दा हरेक कलाकारका फ्यानहरु पनि विभाजित छन् ।

अझ, एउटा कलाकारको फिल्म रिलिज हुँदा वा प्रचार सामाग्री सार्वजनिक हुँदा अर्को कलाकारले शुभकामना दिन समेत हिच्किच्याएको पाइन्छ ।

बारम्बार कलाकारहरुबिच एकता आवश्यक रहेको टिप्पणी पनि हुँदै आएको छ । यसैबिच, वैशाखको २१ गतेबाट रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’मा भने नेपाली फिल्मका स्टारहरुको एकता देखिएको छ ।

रेनशा राई रानाको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएको दिनमा नै नायक अनमोल केसीले इन्स्टाग्राम स्टोरीमा शेयर गर्दै फिल्मको टिमलाई नै शुभकामना दिएका थिए ।

अब, अर्का नायक प्रदीप खड्काले पनि फिल्मको ट्रेलर सामाजिक संजालमा शेयर गर्दै धिरज, जसिता, रेनशा र सिंगो टिमलाई शुभकामना दिएका छन् । प्रदीपले ट्रेलर शेयर गर्दै शुभकामना दिएपछि निर्देशक रेनशाले उनलाई ‘लभ यू’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

उनले फिल्मको ट्रेलरबाट आफू उत्साहित भएको समेत उल्लेख गरेका छन् । फिल्म क्षेत्रमा धिरजलाई अनमोल र प्रदीपको प्रतिस्पर्धी नायक मानिन्छ । तर, अब यो फिल्मको प्रमोशनमा अनमोल र प्रदीप नै अगाडि देखिएका छन् । यसले, फिल्म क्षेत्रमा र यी स्टारहरुको फ्यानमा सकारात्मक माहोल बन्ने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर