अतिरिक्त सुविधा नपाएको भन्दै प्युठान अस्पतालका डाक्टरहरु आन्दोलनमा – Nepal Press

अतिरिक्त सुविधा नपाएको भन्दै प्युठान अस्पतालका डाक्टरहरु आन्दोलनमा

रुपन्देही । आठ महिनादेखि अतिरिक्त तलब तथा अन्य सुविधा नपाएको भन्दै प्युठानको जिल्ला अस्पतालका ९ जना डाक्टरले नियमित सेवाबाहेक अन्य सेवा बन्दको घोषणा गरेका छन् । पटक पटकको आग्रहलाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै अब हप्ताको ४० घन्टाबाहेक अन्य समयमा आफूहरु जवाफ नहुने भन्दै सबै प्युठानीहरुको नाममा उनीहरुले अपील जारी गरेका छन् ।

यहाँ कार्यरत डाक्टरहरु सन्तोष केसी, रामचन्द्र पन्थी, आशिका महासेठ, प्रशान्त द्विवेदी, प्रतिक्षा मिश्र, रतन सुवेदी, सुवास पोखरेल, भर्मराज चौधरी, अस्मिता पोखरेलले यही अवस्थामा नियमित सेवा दिन नसक्ने बताएका हुन् ।

उनीहरुले यस विषयमा पहिल्यै अस्पतालका निमित्त मेसुलाई जानकारी दिएको र जिल्ला प्रशासन, प्युठान नगरपालिका, जिल्ला समन्वय समिति, पत्रकार महासंघलाई संस्थागत रुपमै समस्या समाधान गर्न आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएपछि बाध्य भएर सेवा रोक्नुपरेको जनाएका छन् ।

आन्दोलनरत डाक्टर सन्तोष केसीले यति लामो समयसम्म आफ्नो आग्रहलाई वेवास्ता गरिएकाले बाध्य भएर यो कदम चाल्नुपरेको बताए ।

तर, अस्पताल प्रशासनले भने आन्दोलनरत डाक्टर तथा कर्मचारीले पूरै तलब नपाएको नभई आंशिक भत्तामात्रै नपाएको र त्यस विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयमा बजेटका लागि कुराकानी भइरहेको जनाएको छ ।

निमित्त मेसु प्रमिला खनालले अस्पतालको अरिरिक्त आम्दानी नभएकाले वैकल्पिक सेवाको विषयमा प्रदेश सरकारसँग बजेट माग भएको र आन्दोलनरत साथीहरुसँग संवादमै समस्या समाधान गर्ने र सेवा नरोक्ने गरी अगाडि बढ्ने नेपाल प्रेससँग बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *