एमाले सांसदसँग मुख्यमन्त्री अधिकारीको ‘डिनर मिटिङ’, विश्वासको मत लिन सुझाव – Nepal Press

एमाले सांसदसँग मुख्यमन्त्री अधिकारीको ‘डिनर मिटिङ’, विश्वासको मत लिन सुझाव

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो पार्टीका सांसदहरुसंग छलफल गरेका छन् । विश्वासको मत लिने समय नजिकिएसँगै मुख्यमन्त्री अधिकारीले सांसदहरुसँग संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफलका लागि ‘डिनर मिटिङ’ भएको हो ।

पोखरा लेकसाइडको होटल पौवामा आइतबार राती भएको ‘डिनर मिटिङ’ मा सांसदहरूले मुख्यमन्त्री अधिकारीलाई प्रक्रिया पूरा गर्न सुझाएको एक एमाले सांसदले बताए ।

‘मुख्यमन्त्री राजीनामा दिने मुडमा देखिनुभएको छ, मिटिङमा प्रक्रिया पूरा गरेर जाऊँ भन्ने छलफल भएको छ, पार्टी नेतृत्वसँग छलफल गरेर अगाडि बढ्ने तयारी भएको छ,’ उनले भने ।

प्रदेश सभाको बैठक वैशाख ९ गते दिउँसो ३ बजे बस्दै छ । माओवादी केन्द्रले नेकपा एमाले नेता खगराज अधिकारीको सरकारलाई दिएको समर्थन चैत १० गते नै फिर्ता लिइसकेको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा २२ सांसद रहेको एमालेका नेता अधिकारी अल्पमतमा परिसकेका छन् ।

मुख्यमन्त्री अधिकारीसँग २ विकल्प छन्—एउटा राजीनामा दिने, अर्को प्रदेश सभामार्फत विश्वासको मत लिने । यस्तो अवस्थामा वैशाख १० भित्र ती दुई विकल्पमध्ये १ रोज्नुपर्ने बाध्यता मुख्यमन्त्री अधिकारीसँग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर