निर्वाचन वर्ष २०७९- नयाँ शक्तिको उदय, राजनीतिक अस्थिरता उस्तै – Nepal Press

निर्वाचन वर्ष २०७९- नयाँ शक्तिको उदय, राजनीतिक अस्थिरता उस्तै

विश्लेषकको टिप्पणी- सांगठनिक रुपमा नयाँ भए पनि प्रवृत्तिगत रुपमा कसैको फरक छैन

काठमाडौं । नेपाली राजनीतिमा २०७९ साल मूलतः उतारचढावमै बित्यो । निर्वाचन वर्ष भएकाले पनि यो साल राजनीति तरल नै रह्यो । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभादेखि सभामुख हुँदै राष्ट्रपतिसम्मको निर्वाचन भयो ।

जसबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिदेखि देशले समेत नयाँ नेतृत्व पायो । निर्वाचनको दौरानमा यो वर्षमा केही रोचक परिदृश्य देखिए । निर्वाचन परिणामले नेपाली राजनीतिक वृत्तमा तरंग नै ल्याइदियो ।

नयाँ राजनीतिक दलको उदयले ठूला दलमाथि नराम्रो झापड हान्यो । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान तथा धनगढी उपमहानगरपालिकासहित शहरी क्षेत्रमा ठूला दलमाथि नराम्रो झड्का लाग्यो ।

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरमा बालेन शाह, धरानमा हर्क साम्पाङ, धनगढीमा गोपाल हमाल विजयी भए । स्थानीय तहमा ठूला शहरहरुमै नतिजा उल्टिएपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि स्वतन्त्रको लहर नै लाग्यो ।

प्रतिनिधिसभा निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशमा डा. सीके राउत नेतृत्वको जनमत पार्टी, जेलमा रहेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी अप्रत्यारिलो मतसहित उदायो । तर, छोटो समयमै उदाएका दलहरुमा पनि ठूला दल कांग्रेस, एमाले, माओवादीभन्दा फरक प्रवृत्ति नपाइएको विश्लेषकहरु बताउँछन् ।

प्रतिनिधिसभाको निर्वाचनमा रौतहट ३ बाट प्रभु साह, सर्लाही ४ बाट अमरेशकुमार सिंह, मोरङ ५ बाट योगेन्द्र मण्डल, रौतहट ४ बाट किरणकुमार साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र उम्मेदवार निर्वाचित भए । तर, अहिले अमरेशकुमारबाहेक सबै कुनै न कुनै राजनीतिक दलमा आवद्ध भइसकेका छन् ।

पहिलो पटक निर्वाचनमा सहभागी रास्वपा २० सीट जितेर प्रतिनिधिसभाको चौथो शक्ति बन्यो । जनमतले पनि ६ सीट जितेर मधेशमा आफ्नो शक्ति देखायो । त्यसो त राप्रपाले १४ सीट जितेर केही शक्ति देखायो । तर, ठूला दलहरु कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, जसपा १२ र नेकपा एस १० सीटमा खुम्चिए ।

यस्तै नागरिक उन्मुक्ति ३, लोसपा ४, राजमो र नेमकिपाले एकएक सीट जिते । तर, निर्वाचनपछि पनि राजनीतिक स्थिरता भने कायम हुन सकेन । निर्वाचनबाट एकै दलको सरकार गठन गर्न बहुमत नपुगेपछि तेस्रो शक्ति तर निर्णायक शक्तिको फाइदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उठाए ।

स्थानीय तह निर्वाचनदेखि नै कांग्रेस नेतृत्वमा गठबन्धनबाट चुनाव लडेपछि पुस १० गते सरकार बनाउने बेलामा प्रचण्ड एमालेको कित्तामा पुगे । तर, उनले दुई महिनामै चुनावअघिकै गठबन्धनमा फर्किएर अस्थिरतालाई बढवा दिएको कतिपयको आरोप छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले नियुक्ति भएको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिए । अहिले दश दलीय गठबन्धनबाट सरकारको नेतृत्वमा रहे पनि विश्वासिलो आधार अझै पाउन सकेका छैनन् । जुन कारणले अझै उस्तै अस्थिरताको सम्भावना छ ।

चुनावी वर्ष रहेकै कारणले २०७९ मा राजनीतिक उतारचढाव भइरहेको राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन् ।

उनी भन्छन्, ‘यो चुनावी वर्ष रह्यो । तर, पोजेटिभ रुपमा हेर्दा नयाँ केही देखिएन । संसदीय राजनीतिमा अहिले भ्रष्टाचारका घटनाहरु बढेको देखिएको छ । राजनीतिमा दल र नेताहरुमा नैतिकता हराउँदै गएको देखियो । मधेशतिर हेर्ने हो भने जनकपुर वीरगञ्जतिर धार्मिक तनाव पनि देखियो । समग्रमा भन्दा विश्व राजनीतिको प्रभाव पनि देखिएको छ ।’

नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव पनि उत्तिकै परेको उनी बताउँछन् । राजनीतिक रुपमा दलहरुमा पूँजीपतिहरुको पडकले छाड्न नसकेको उनको बुझाइ छ ।

निर्वाचन नयाँ शक्तिहरुको उदयलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिक प्रवृत्तिगत रुपमा हेर्दा नयाँ कोही छैनन् । रवि लामिछानेको पार्टीमा थोरै आफूलाई इमानदार देखाउन खोजेको छ । तराईमा सीके राउत आएको देखियो । तर पनि राजनीतिक प्रवृत्तिको हिसाबले मैले चाहिँ नयाँ देखेको छैन ।’

नेपालको राजनीतिमा कांग्रेस पूँजीवादी लोकतन्त्रवादी, माओवादी र एमालेको संशोधनवादी, राप्रपालगायतहरुको राजतन्त्रवादी, कम्युनिष्टहरुकै गैरसंसदीय धारामा रहेको उनको बुझाइ छ ।

उनले थपे, ‘पार्टीहरु सांगठनिक रुपमा नयाँ भए पनि प्रवृत्तिगत रुपमा नयाँ होइनन् । अर्थराजनीतिको रुपमा हेर्दा मिडल क्लासको पार्टीको रुपमा रास्वपा उदायो । त्यो पनि छिट्टै पुरानै दलहरु जस्तै हुने देखिएको छ । बाहिरबाट हेर्दा नयाँ भए पनि भित्रबाट पुरानै हो ।’

स्थानीय तह निर्वाचनबाट बालेन र हर्क साम्पाङको उदयलाई पनि स्वाभाविक रुपमा लिन्छन् उनी ।

उनी भन्छन्, ‘यो कुनै नयाँ कुरा होइन । पहिलाको निर्वाचनमा पनि दुई चार जना प्रभावशाली स्वतन्त्रहरुले जितेको देखिएको छ । अहिले काठमाडौं र धरान जस्तो देखिने ठाउँमा भएकाले धेरै प्रचार भएको हो । नेपाली राजनीतिमा यो चलिरहेकै छ ।’

राजनीतिमा गैरराजनीतिक स्थिति बढी देखिएको उनको बुझाइ छ । बालेन र हर्कको जीतलाई जनताको फ्रस्टेशनको रुपमा व्याख्या गरे पनि निर्वाचन प्रक्रियामा स्वाभाविक मान्छन् विश्लेषक जनकपुरी ।

यस्तै अर्का राजनीतिक विश्लेषक हरि रोका पनि राजनीतिक प्रणालीमा परिवर्तन टिकाउन नसकेको अनुभूति भएको बताउँछन् ।

उनी भन्छन्, ‘राजनीतिक प्रणालीमा परिवर्तन आएका छन् । चुनावी वर्षमा राजनीतिक उतारचढाव आउनु सामान्य हो । तर, अहिलेको निर्वाचनमा जनताले दिएको सन्देशलाई ठूला दलले पनि बुझ्न सक्नुपर्छ ।’

रास्वपाको उदयले अबको निर्वाचनमा कांग्रेस र एमालेसँग प्रतिस्पर्धी दलको उदय हुनसक्ने उनको बुझाइ छ । उनले भने, ‘माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका दलहरु त खुम्चिएकै छन् । त्यसैले नेपाली राजनीतिको रंगमञ्चमा नयाँ पार्टी नै आउने हुन् कि भन्ने जस्तो पनि देखिन्छ । तर, अहिल्यै भन्न सक्ने अवस्था छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर