२०७९ सालको मैझारो- एक वर्षमा के के भए ? – Nepal Press

२०७९ सालको मैझारो- एक वर्षमा के के भए ?

काठमाडौं । वर्ष २०७९ आजबाट बिदा हुँदैछ । हरेक वर्ष जस्तै यो वर्ष पनि राजनीतिकै मियो वरिपरि देश घुमिरह्यो । त्यसो त राजनीति बाहिर पनि थुप्रै अविस्मरणीय घटनाहरु भएका छन् ।

२०७९ साललाई फर्केर हेर्दा यो चुनावी वर्षका रुपमा रहेको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदै राष्ट्रियसभाको उपनिर्वाचनसमेत यस वर्ष सम्पन्न भएका छन् । यी चुनावहरुले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा निकै फेरबदल ल्याइदिएका छन् ।

आउनुस्, २०७९ सालका मुख्य १० घटनाक्रमको समीक्षा गरौंः

चुनाव हारेर पनि शक्तिमा प्रचण्ड

संसदीय चुनावमा नेकपा माओवादी केन्द्रले राम्रो नतिजा ल्याउन सकेन । तर, सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक चाल चलेर प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन सफल भएका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेससहितका दलसँग तालमेल गरेर निर्वाचन लडेको थियो । परिणाममा माओवादी ३२ सीटसहित तेस्रो दल बन्यो । तर, कांग्रेसले प्रधानमन्त्री दिने पूर्वसहमति पालना नगरेको भन्दै प्रचण्ड एमालेतिर लहसिए ।

पुुस १० गते माओवादी अध्यक्ष प्रचण्ड रन्थनिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । अन्ततः एमालेलगायतका दलहरुको समर्थनसहित उनी तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्रीको सपथ लिएको १५ दिनपछि पुस २६ गते उनले प्रतिनिधिसभामा १० दलको समर्थनसहित ९९ प्रतिशत अर्थात २७० जना सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गर्न सफल भए ।

तर, यो समीकरण चाँडै भत्कियो । प्रधानमन्त्री प्रचण्डसहितको निर्वाचनअघिकै गठबन्धन ब्युँताएपछि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिए । त्यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी पनि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पदमुक्त गरेपछि सरकारबाट बाहिरिसकेको थियो । त्यसपछि कांग्रेससहितको गठबन्धनबाटै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भए ।

गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक माघ ६ गते विश्वासको मत लिए । दोस्रो पटक प्रचण्डको पक्षमा १७२ र विपक्षमा ८९ मत तथा दिन्न भन्ने पक्षमा एक मत परेको थियो ।

चोलेन्द्र शमशेरको विवादित बहिर्गमन

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि २०७८ सालमा संसदमा महाअभियोग लागेको थियो । २१ वटा गम्भीर आरोप लगाउँदै तत्कालीन प्रतिनिधिसभाका ९८ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । यद्यपि महाअभियोगको प्रस्ताव पारित नहुँदै यसअघिको प्रतिनिधिसभाको आयु सकिएको थियो र तत्कालीन प्रधानन्यायाधीश जबरा महाअभियोग पारित नहुँदै यस वर्ष अनिवार्य अवकाशमा गए ।

२०७५ पुसमा प्रधानन्यायाधीश बनेका जबरामाथि अघिल्लो वर्ष २०७८ फागुनमा नै महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्तावपछि उनी १० महिनासम्म कार्यालय नै जान सकेनन् । संसद विघटनपछि अदालत जाने प्रयास गर्दा नेपाल बार एसोसियसनको अवरोधका कारण उनी रोकिएका थिए । त्यसबेला उनलाई बालुवाटारस्थित निवासमा नजरबन्दसमेत गरिएको थियो ।

तर, लामो समयसम्म महाअभियोगको प्रस्ताव अघि बढ्न नसकेका कारण जबरा स्वतः निलम्बनमा परे । गत मंसिर २१ गते संसद सचिवालयका महासचिव भरत गौतमले उनको महाअभियोग निष्क्रिय भएको भन्दै निलम्बन फुकुवा गर्न पत्र लेखेका थिए । तर, उक्त पत्र रद्द गर्न रिट परेपछि संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दियो । योसँगै जबराको एक पटकमात्रै भए पनि प्रधानन्यायाधीशकै हैसियतमा सर्वोच्च अदालत जाने योजना विफल बन्यो । गत मंसिर २७ गते उनी अनिवार्य अवकाशमा गए । कार्यकालभरि विवादित रहेका जबराको अवकास अपमानजनक रुपमा भयो ।

यती एयरलाइन्सको विमान दुर्घटना

वर्ष २०७९ को माघ १ गते यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भयो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेललगायत जहाजमा सवार ७२ जनाकै निधन भयो ।

काठमाडौंबाट पोखराका लागि बिहान १०ः३२ मा उडेको यतीको ९ एन-एएनसी एटीआर-७२ विमान १०ः५७ मा सेती नदीको खोंचमा खसेको थियो । दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग बनायो । उक्त आयोगले सरकारलाई दिएको प्रतिवेदनमा इञ्जिनमा समस्या हुँदा दुर्घटना भएको उल्लेख छ । जहाजमा प्रशिक्षक पाइलटका रुपमा कमल केसी र पाइलटका रुपमा अञ्जु खतिवडा थिए ।

यौन प्रकरणमा दुई सेलिब्रिटी

यो वर्ष थुप्रै सेक्स स्क्यान्डलहरु सतहमा आए । त्यसमध्ये सबैभन्दा बढी चर्चा क्रिकेटर सन्दीप लामिछानेको भयो ।

सन्दीपले बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि नेपाल क्रिकेट संघले सन्दीपलाई निलम्बन ग¥यो । विदेशबाट फर्कने क्रममा उनी त्रिभुवन विमानस्थलबाट असोजमा पक्राउ परे । करिव ३ महिना हिरासत तथा कारागार बसेर उनी गत पुस मसान्तमा धरौटीमा रिहा भए । उच्च अदालत पाटनले तारेखमा रिहा गर्ने आदेश दिएपछि उनी २० लाख धरौटी तिरेर रिहा भएका हुन् । यद्यपि उनको मुद्दाको किनारा लागिसकेको छैन ।

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम (पल) शाह यस वर्ष रिहा भए । उच्च अदालत पोखराले सफाइ दिएपछि जिल्ला कारागार तनहुँबाट गत फागुनमा उनी रिहा भएका हुन् । शाहविरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । पलविरुद्ध एक नाबालिग गायिकाले २०७८ सालमा नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

स्वतन्त्रबाट बालेन र हर्कको उदय

वर्ष २०७९ को सुरुवातमा भएको स्थानीय तह निर्वाचनमार्फत दुई स्वतन्त्र अनुहारको नेपाली राजनीतिमा जबरजस्त उदय भयो । उनीहरु हुन्, बालेन्द्र शाह र हर्क साम्पाङ ।

स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले ठूला दलहरुलाई जिल्याउँदै काठमाडौं महानगरपालिकाको मेयरमा शानदार जीत हासिल गरेका थिए । कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित जस्ता हस्तीहरुलाई पन्छाउँदै उनले मेयर पड्काएका हुन् । बालेनसँगै स्वतन्त्रबाट धरानमा चुनाव जितेका हर्क साम्पाङको पनि निकै चर्चा भयो ।

मेयरमा जितेपछि पनि यी दुई नेता लगातार समाचारमा छाइरहेका छन् । काठमाडौंको फोहोर व्यवस्थापनदेखि सुकुमबासी बस्ती हटाउने जस्ता कार्यमा बालेनले सक्रियता देखाए । यद्यपि विवादमुक्त भने हुन सकेनन् । सामाजिक सञ्जालमा बेलाबखत लेख्ने आक्रामक स्टाटसहरुले गर्दा पनि उनी चर्चामा आइरहे ।

हर्कले चाहिँ शारीरिक श्रममा जोड दिए । उनी पनि सामाजिक सञ्जालका स्टाटसले विवादित बन्दै आएका छन् । हर्क गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुख निर्वाचित भएका थिए । हर्कले २० हजार ८२१ मत ल्याउँदा किशोरले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत ल्याइन् ।

रवि लामिछानेको राजनीतिमा छलाङ

२०७९ सालमा ग्यालेक्सी फोरके टेलिभिजन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका सभापति रवि लामिछाने पनि यस वर्षका सर्वाधिक चर्चित पात्र हुन् । उनको पार्टीले गठनको ६ महिनामै संसदीय चुनावमा २० सीट जित्यो । रविले उपप्रधान तथा गृहमन्त्रीको पनि स्वाद चाख्न भ्याए ।

रवि आफैंले चितवन क्षेत्र नम्बर २ बाट विशाल अन्तरको जीत हासिल गरेका थिए । उनले ४९ हजार २६४ भोट प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । कांग्रेसका श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी ल्याएर रवि निर्वाचित भएका हुन् ।

मंसिरको पहिलो साता प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछाने एक महिनापछि पुस १० गते उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । त्यसको एक महिनामै माघ १३ गते उनलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गर्दै एकैपटक पार्टीको सभापति, प्रतिनिधिसभा सदस्य तथा उपप्रधान एवं गृहमन्त्रीबाट पद मुक्त बनाइदियो ।

त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएर अहिले फेरि चितवन २ को उपनिर्वाचन लड्दैछन् । उनीविरुद्ध अभियन्ता युवराज सफलले सर्वोच्च अदालतमा राहदानी दुरुपयोग प्रकरणको मुद्दा पनि हालिसकेका छन् । मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब

यस वर्षको अर्को चर्चित घटना हो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज काण्ड । यसले नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई निकै विवादित बनायो ।

२०७९ जेठ १४ गते चालू आर्थिक वर्षको बजेट बनाउँदै गर्दा निश्चित स्वार्थमा परेर करको दरमा हेरफेर गरेको विषय यो वर्ष देशको अर्थतन्त्र नै हल्लिने गरी चर्चामा आयो । यो विषय सार्वजनिक भएसँगै छानबिन गर्न संसदीय विशेष समिति गठन भयो । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको थियो । अन्ततः समितिले अर्थमन्त्री शर्मालाई क्लीन चिट दियो । निलम्बित शर्मा फेरि अर्थ मन्त्रालय फर्किए ।

प्रेमप्रसाद आचार्य आत्मदाह

२०७९ सालमै संघीय संसद भवन अगाडि युवा व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । यो घटना पनि २०७९ सालको सबैभन्दा दुःखद र चर्चित घटना बन्यो ।

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद बैठकबाट फर्किंदै गर्दा आफ्नै शरीरमा आगो लगाएर घाइते बनेका आचार्यलाई तत्काल प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । तर, उनी बाँच्न सकेनन् ।

आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो स्टाटसले धेरैलाई भावुक तुल्यायो । उक्त स्टाटसमा आचार्यले आफूले विभिन्न व्यवसाय गर्ने क्रममा खेपेको भुक्तमान वर्णन गरेका थिए । आफू ऋणबाट उक्सिनै नसकेपछि मृत्यु रोज्न बाध्य भएको उनले लेखेका थिए । आचार्यले सरकारलाई बुँदागत रुपमा सुझावहरु पनि दिएका थिए ।

क्रिकेटमा सफलता

नेपाली क्रिकेटका लागि यो वर्ष अविस्मरणीय नै रह्यो । नेपाली क्रिकेट टीमले उत्कृष्ट प्रदर्शनसहित आफ्नो एक दिवसीय मान्यताको रक्षामात्र गरेन, विश्वकपको ग्लोबल क्वालिफायर्समा पनि स्थान बनाएको छ । नेपालले खेलेका पछिल्ला १२ वटा एक दिवसीयमध्ये ११ वटामा जीत दर्ता गर्दै ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

घरेलु मैदानमा भएका दुईवटा त्रिकोणात्मक प्रतियोगिता नेपालले क्लीन स्वीप गर्‍यो । नेपाली टीमले घरेलु मैदानमा यूएई, पपुवा न्यूगिनी, नामिबिया जस्ता टीमलाई घुँडा टेकाएको थियो । यूएईमा भएको त्रिकोणात्मक सिरिजमा भएका ४ मध्ये ३ वटा खेल नेपालले जित्यो ।

नेपालले यसै वर्ष भारतीय प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको थियो । उनको प्रशिक्षणमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अब घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्य नेपालले लिएको छ ।

थपिए दुई अन्तराष्ट्रिय विमानस्थल

विकासका दृष्टिकोणबाट हेर्दा वर्ष २०७९ मा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्रै रहेको अवस्थामा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।

दुइटै विमानस्थलमा उडान सुरु भइसकेको छ । २०७९ सालको पहिलो महिना बैशाखमा भैरहवा विमानस्थल सुरु भएकोमा २०७९ पुस १७ गते प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गरे । योसँगै २०७९ सालबाट अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । दुवै विमानस्थल खुले पनि पर्याप्त उडान सञ्चालन खर्च धान्न मुस्किल परिरहेको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *