महासंघमा देउवा र प्रचण्डका उम्मेदवारको पराजय, दोस्रो चरणमा संघाईको समर्थन कसलाई ? – Nepal Press

महासंघमा देउवा र प्रचण्डका उम्मेदवारको पराजय, दोस्रो चरणमा संघाईको समर्थन कसलाई ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरु आफ्नो नजिकका व्यक्तिलाई जिताउन प्रमुख राजनीतिक दलहरु लागेकामा सत्तापक्षलाई धक्का पुगेको छ ।

कांग्रेसको संस्थापन पक्षको समर्थन रहेका भनिएका रामचन्द्र संघाई पहिलो चरणमै बाहिरिएपछि अब एमालेको समर्थन प्राप्त उमेशलाल श्रेष्ठ र गगन थापा पक्षीय कांग्रेसको समर्थन प्राप्त अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

संघाईलाई वरिष्ठ उपाध्यक्षमा जिताउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको विशेष सक्रियता थियो । महासंघमा आफ्नो नजिकको व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष बनाउन सके चुनावलगायत अन्य बेलामा पनि सजिलो हुने मानिन्छ ।

अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईको वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुँदा सबैभन्दा थोरै मत संघाईले ल्याएका हुन् । पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ प्रतिशत मत पाए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गीलाई जिताउन चाहन्थे । तर, सुमार्गीले जति प्रयास गरे पनि पराजय भोगेका छन् । सुमार्गी वरिष्ठ उपाध्यक्ष पदका उम्मदेवार अञ्जन श्रेष्ठको टीमबाट जिल्ला नगर उपाध्यक्ष उम्मेदवार बनेका थिए ।

प्रचण्डले सुमार्गीलाई जिताउन नेतृत्व तहलाई नै दबाब दिएका थिए । माओवादीको समर्थनबाट महासंघमा माथिल्लो तहमा सुमार्गीमात्रै थिए । सुमार्गीलाई संघाई प्यानलका सुरकृष्ण वैद्यले पराजित गरेका हुन् । वैद्यले ४३ मत ल्याएर प्रतिस्पर्धीद्वय सुमार्गी र दिनेश श्रेष्ठलाई हराएका हुन् । सुमार्गीले ३७ र श्रेष्ठले ३४ मत पाएका छन् ।

सुमार्गीले प्रचण्डको निर्वाचनलगायतका आर्थिक पाटोमा सघाउँदै आएका छन् । सुमार्गी प्रचण्डको आर्थिक डोनर नै मानिन्छन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा कुल ११७ मत खसेको थियो । जसमा एक मत बदर भएको हो ।

पुनः मतदानमा कसलाई कसको समर्थन ?

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, बुधबार भएको चुनावमा कुनै उम्मेदवारले पनि आवश्यक मत ल्याएनन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई नेकपा एमालेको समर्थन छ । उमेशलाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ तथा सहना प्रधानका छोरासमेत हुन् । तर, उनी आफूलाई सबै पार्टीको साथ रहेको बताउँछन् ।

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार अञ्जन श्रेष्ठलाई कांग्रेस महामन्त्री गगन थापाको समर्थन रहेको छ ।

महासंघको दोस्रो चरणको निर्वानमा तेस्रो भएका संघाईको साथ उमेशलाल र अञ्जनले नै खोजिरहेका छन् । अहिलेसम्म संघाईले कसलाई समर्थन गर्ने भनेर खुलाएका छैनन् । स्रोतका अनुसार संघाईले उमेशलाल र अञ्जनसँग छुटाछुटै भेट गरेका छन् । तर, आफ्नो समर्थन कता भनेर खुलाएका छैनन् ।

यो चरणमा राजनीतिक नभएर आर्थिक मोलतोलसमेत हुने बताइन्छ ।


प्रतिक्रिया

One thought on “महासंघमा देउवा र प्रचण्डका उम्मेदवारको पराजय, दोस्रो चरणमा संघाईको समर्थन कसलाई ?

  1. अजय सुमार्गी प्रचण्डका डोनर होईनन । बरू जनयुद्वमा लुटेको पैसा सुमार्गी मार्फत विदेश लैजाने र त्याहाँबाट विदेशी लगानीको नाममा नेपाल ल्याउने काम गरिदिएको हुनसक्छ । छानबिन गर । पैसा त प्रचण्डको हो नि । सत्ताबाट हटेको वा पार्टी कमजोर भएको दिन सुमार्गीहरूले प्रचण्डको सबै पैसा खाईदिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर