गोविन्दराज जोशी समूहलाई ‘कमब्याक’ गराउने कांग्रेसको प्रयास असफल – Nepal Press

गोविन्दराज जोशी समूहलाई ‘कमब्याक’ गराउने कांग्रेसको प्रयास असफल

चुनावलक्षित रणनीति अख्तियार गरेर अपमान गर्न खोजेको जोशी समूहको निष्कर्ष

काठमाडौं । तनहुँ १ को उपनिर्वाचनलाई लक्षित गर्दै गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको प्रयास असफल भएको छ।

आफूहरूलाई चुनावलक्षित स्वार्थको लागि मात्रै कांग्रेसले प्रयोग गर्न खोजेको भन्दै कांग्रेससँग वार्ता समाप्त भएको घोषणा गरेको हो। कांग्रेसले चुनाव लक्षित रणनीति अख्तियार गरेर जोशीको कारबाही फुकुवा गरेको थियो।

सम्मानजनक भूमिका पाए कांग्रेसमै सक्रिय भएर काम गर्न जोशी तयार थिए। तर, कांग्रेसले चुनावलक्षित गरेर मात्रै कुरा अगाडि बढेपछि जोशीले बुधवार एक विज्ञप्ति जारी गर्दै कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गर्‍यो।

जोशी समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ। नेपाली काङ्ग्रेसको नामबाट मिति २०७९ चैत्र १९ गतेको आफूले विगतमा गरेका गल्तीप्रति आत्मालोचना गरेको अवस्थामा क्रियाशील सदस्य कायम रहने तथा २०८० साल वैशाख १० गते तनहुँ १ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहेमा क्रियाशील सदस्यता कायम रहने जस्ता वाक्यहरू राखी गरिएको वक्तव्य जालझेलपूर्ण र हामीलाई अपमान गर्ने खालको दस्ताबेज भएको ठहर हामीले गरेका छौँ। जसले गर्दा सो वक्तव्यलाई हामीले अस्वीकार गरेको छौ।

कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झिएको जोशी समूहको बुझाइ छ। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि अहिले उपनिर्वाचन हुन लागेको हो। तनहुँमा पौडेल र जोशी समूहबीच लामो समयसम्म टकराब रहेको थियो।

वैशाख १० को उपनिर्वाचनमा कुनै आधिकारिक उम्मेदवार नभएकाले आफ्नो समर्थकलाई स्वविवेकको प्रयोग गर्न जोशी समूहले भनेको छ।

जोशीलाई मनाउन सभापति देउवा र महामन्त्री थापा समेत सक्रिय भएर लागेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन। देउवाले जोशीका छोरा दीपकराजलाई आफ्नै निवास धुम्बाराहीमा बोलाएर सोमबार कुराकानी गरेका थिए।

जोशीलाई कांग्रेसमै ‘कमब्याक’ गराउन देउवाले केन्द्रीय सदस्यको प्रस्ताव गरेको थियो। तर, उनीहरूले जोशीसहित आफ्नो समूहलाई सम्मानजनक जिम्मेवारी दिनुपर्ने अडान राखेका थिए।

देउवासँग भेटेपछि जोशीका छोरा दीपकराजले नेपाल प्रेससँग भनेका थिए, ‘हाम्रो अस्तिको निर्वाचनमा पनि पाँच–सात हजार भोट आएको टिम छ। कांग्रेस नै बनाउने भए सबैलाई पार्टीमा सम्मानजनक भूमिका दिनुपर्छ।’

उनले बुबा पहिले नै पार्टीका शीर्ष तहमा पुगिसकेको व्यक्ति भएकाले अहिले केन्द्रीय सदस्य मात्रै लिएर कांग्रेसमै मिसिने कुरा सम्भव नभएको उनको भनाई छ।

उनले भने, ‘बुबालाई पदको कुनै लोभ छैन। त्यसैले हामीलाई कांग्रेस बन्न जरुरी पनि छैन। उहाँहरूको रणनीति चुनावमुखी मात्रै भयो। पार्टीलाई सुदृढ गराऔँ भन्ने भएन। तर, हामीले चुनावको रिजल्ट भन्दा पनि ०४६ साल यता देखिकै पार्टी सुदृढीकरण गरेर जानुपर्छ भन्ने बुबाको इच्छा थियो।’

उनले त्यही कुरा कांग्रेस महामन्त्री थापासँगको भेटमा राख्दा पनि सकारात्मक जवाफ नआएपछि आफूहरूले तटस्थ बस्ने निर्णय गरेको बताउँछन्।

उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्।

वाग्ले हालै मात्रै कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका हुन्। गगन निकट मानिएका नेता वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि देउवाले तनहुँ १ को चुनावी जिम्मेवारी सुम्पिएर पठाएका छन्।


प्रतिक्रिया

One thought on “गोविन्दराज जोशी समूहलाई ‘कमब्याक’ गराउने कांग्रेसको प्रयास असफल

  1. यी लुटेराहरूले बैशाख १० सम्म हो मनाउने । त्यसपछि आफ्नो असली रूप देखाईहाल्छन् । जोशीजिले जे गरे ठिक गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर