शंखरलाई ६ महिनापछि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइयो – Nepal Press

शंखरलाई ६ महिनापछि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइयो

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ यरीचोक घर भएका १३ वर्षीय शंखर चौधरी हजुर आमासँग बस्दै आएका थिए । उमेरले १३ वर्ष पुगेका शंखरको पढाई भने कमजोर थियो ।

कक्षा २ पढ्ने शंकर गत साउन महिनामा हजुर आमासँग विद्यालय जान्छु भनेर घरबाट निस्किए । उनी सधैँ जस्तै विद्यालयमा पढेर घर फर्किने आसामा वृद्ध हजुरआमा जौकला रोकाया नातिको बाटो कुरेर बसिन् । तर, नाति शंखर अबेरसम्म पनि घरमा आएनन् ।

घरमा नआएपछि गाउँ वरवरका शंखरका साथीहरूको घरमा खोजी भयो । तर, कुनै पत्तो नलागेपछि अर्को दिन खोज्ने निधोसहित हजुरआमाले खोजीकार्य बन्द गरिन् । भोलिपल्ट जौकलाले आफन्त कहाँ तथा साथीभाइकोमा खोजी गरिन् । त्यहाँ पनि शंखर नआएको निष्कर्षपछि हजुरआमाले उनी पढ्ने विद्यालयमा समेत पुगेर खबर गरिन् । विद्यालयले त्यो दिन शंखर नआएको बताएपछि उनी हराएको थाहा भयो ।

त्यसपछि जौकलाले प्रहरी तथा गाउँलेको सहयोगमा विभिन्न मानव अधिकारसँग सम्बन्धित काम गर्ने संघ संस्थासामु नाति हराएकोले खोजी गर्न गुहार गरिन् । चारैतिर खबर गर्दा शंखर नेपालमा नरहेको महसुस भयो ।

शंखर साथी भाइसँग भारत छिरिसकेका रहेछन् । उनी त्यहाँ पुगेपछि विभिन्न दुःख कष्ट भोग्नु प¥यो । तर, शंखर कहाँ छन् भन्ने कुरा आफन्तलाई थाहा नै भएन। ६ महिनापछि प्रवासी नेपालीहरूको संस्था मित्र मञ्चले शंखरको उद्वार गरे पछि परिवारसँग मिलन भएको छ ।

शंखरलाई ६ महिनापछि भारतबाट उद्धार गरेर परिवारको जिम्मा

शंखरको ६ महिनापछि भारतबाट उद्धार गरेर परिवारसँग पुनः मिलन भएको छ । उनलाई मङ्गलवार वीरेन्द्रनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाले परिवारको जिम्मा लगाएका हो ।

भारतको दिल्लीका होटेलमा ज्याला मजदुरी गर्दागर्दै प्रहरीले उद्धार गरेर उनलाई बाल कल्याण समिति फिरोजावादको बाल गृहमा राखिएको थियो ।

शंकरलाई दिल्लीमा क्रियाशील प्रवासी नेपालीहरूको संस्था मित्र मञ्चले उद्धार गरी रुपन्देही ल्याएर मानव कल्याण मित्र मञ्च र रोटरी क्लब अफ मणिग्रामलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि मानव कल्याण मित्र मञ्च तथा रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बालकको घर सुर्खेत रहेको प्रारम्भिक जानकारी पत्ता लगाएका थिए ।

अर्यालले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, विद्यालय, प्रहरीसँग समन्वय गरी उनको घर तथा आफन्त पत्ता लगाएर मङ्गलवार नगरपालिकालाई बुझाएपछि वीरेन्द्रनगर नगरपालिकाले शंखरलाई आफन्तको जिम्मा लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *