जनकपुरमा आठै जिल्लाका हरवाचरवाको प्रदर्शन, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी – Nepal Press

जनकपुरमा आठै जिल्लाका हरवाचरवाको प्रदर्शन, सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी

जनकपुरधाम । पुनर्स्थापनाका लागि ‘हरवाचरवा अधिकार यात्रा-२०७९’ सुरु गरेका हरवा चरवाहरुले मधेश प्रदेशका आठै जिल्लाको यात्रा पश्चात आज जनकपुरधाममा विशाल प्रदर्शन गरेका छन् ।

मधेशको वीरगञ्ज र राजविराजबाट सुरु भएको हरवाचरवा अधिकार यात्रा आज जनकपुरधाम पुगेको थियो । आठै जिल्लाका हरवाचरवा भेला भएपछि प्रदर्शन गरिएको छ । प्रदर्शनमा हजारौं हरवाचरवा सहभागी भएका छन् ।

पिडारी चोकबाट सुरु गरिएको प्रदर्शन जनकपुरधामको विभिन्न भागमा परिक्रमा गरिएको छ । प्रदर्शनमा सहभागीहरुले हरवाचरवाको तथ्यांक संकलन गर, हरवाचरवाको उठिबास बन्द गर, हरवाचरवाको माग सम्बोधन गर जस्ता नारा लगाए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । तर पुनः स्थापनाका काम अगाडि नबढाएपछि हरवाचरवाहरु आन्दोलित बनेको छ ।

सरकारले माग पुरा नगरे काठमाडौं पुगेर सिंहदरवार र बालुवाटार घेर्ने चेतावनी समेत हरवाचरवाहरुले दिएका छन् । हरवाचरवा आन्दोलनमा लागेका दलित अधिकारकर्मी सञ्जय महराले भने, ‘सरकारको हरवाचरवा मुक्तिको घोषणा कागजमै सिमित भयो । सरकारको निर्णय तत्कालै कार्यान्वयण होस् ।’

सरकारले हरवाचरवाको माग पुरा गर्न आनाकानी गरेमा काठमाडौं पुगेर सिंहदरवार र बालुवाटार घेर्ने अधिकारर्मी महराले चेतावनी दिए । ‘आज पहिलो चरणको कार्यक्रम सकिएको छ । अब सरकार टेरेन भने दोस्रो चरणमा काठमाडौं पदयात्रामा निस्किन्छौं,’ उनले भने ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्कले आन्दोलनको नेतृत्व गरिरहेको छ । उनीहरु यात्राका क्रममा प्रदेशका पालिकाहरु समेत पुगेका थिए । सो क्रममा पालिका प्रमुखहरुले आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *