गोविन्दराजका छोरा भन्छन्- कांग्रेस बनाउने भए ७ हजार भोटको हाम्रो टीमलाई सम्मानजनक भूमिका दिनुपर्छ – Nepal Press

गोविन्दराजका छोरा भन्छन्- कांग्रेस बनाउने भए ७ हजार भोटको हाम्रो टीमलाई सम्मानजनक भूमिका दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् । जोशीका छोरा दीपकराजलाई भेटेर देउवाले केन्द्रित सदस्यको प्रस्ताव राखेका हुन् । देउवाको प्रस्ताव दीपकले अस्वीकार गरे ।

तनहुँ १ मा हुने उपनिर्वाचन लक्षित गरेर जोशीमाथिको कारबाही कांग्रेसले फुकुवा गरेको छ । देउवासँगको छलफल निष्कर्षविहीन टुंगिएको दीपकराजले बताए ।

देउवासँगको भेटपछि उनले नेपाल प्रेससँग भने, ‘हाम्रो अस्तिको निर्वाचनमा पनि पाँच-सात हजार भोट आएको टीम छ । कांग्रेस नै बनाउने भए सबैलाई पार्टीमा सम्मानजनक भूमिका दिनुपर्छ । मलाई पनि कांग्रेसले दिनदहाडै कुटेको र बुबाको गाडि पनि ध्वस्त बनाएको थियो । त्यो पनि रामचन्द्र पौडेलको ठाउँमा । मैले त्यो विषयमा पनि छानबिन गरेर क्षतिपूर्ति दिन माग गरेको छु ।’

उनले गोविन्दराज जोशीको टीमको अहिलेमात्रै नभएर खुम्चिँदै गएको कांग्रेसलाई विकास गरेर अगाडि लानुपर्छ भन्नेमा रहेको बताए ।

उनले भने, ‘बुबाले कांग्रेसलाई नै अगाडि बढाउनुपर्छ भनेर लाग्नुभएको छ जानै नै भए । तर, उहाँहरूले यो चुनावलाई मात्रै फोकस गर्नुभएको छ । त्यसैले अहिले नै उहाँहरूले मागेजस्तो सहयोग दिने अवस्थामा पुगेका छैनौँ । हाम्रो पनि टीम छ । टीममा छलफल गरेर आवश्यक निर्णय लिन्छौं ।’

उनले बुबा पहिले नै पार्टीका शीर्ष तहमा पुगिसकेको व्यक्ति भएकाले अहिले केन्द्रीय सदस्यमात्रै लिएर कांग्रेमै मिसिने कुरा सम्भव नभएको बताए ।

उनले भने, ‘बुबालाई पदको कुनै लोभ छैन । त्यसैले हामीलाई कांग्रेस बन्न जरुरी पनि छैन । उहाँहरूलाई हामी चाहिन्छ भने हाम्रो हैसियत अनुसार भन्नुपर्‍यो ।’

तर, जोशीले आफू कांग्रेस नरहेको भन्दै कारबाही फुकुवाको अर्थ नभएको बताइसकेका छन् ।

दीपकले थपे, ‘उहाँहरूको चुनावमुखी मात्रै भयो । पार्टीलाई सुदृण गराऔं भन्ने भएन । तर, हामीले चुनावको रिजल्ट भन्दापनि ०४६ साल यतादेखिकै पार्टी सुदृढीकरण गरेर जानुपर्छ भन्ने बुबाको इच्छा छ । हाम्रो व्यक्तिगत स्वार्थ त जसको खुबी छ । त्यही अनुसारको जिम्मेवारी पावस् भन्ने नै हो । कसैले अहिले पार्टीमा पद दिएर हुने त केही होइन । तीन-चार वर्षमा फेरि चुनावमा जान परिहाल्छ । के फरक पर्छ र? पार्टीलाई अगाडि बढाउन सकिन्छ भने किन गर्ने भन्ने बुबाको उद्देश्य हो ।’

उनले त्यही विषय कांग्रेस महामन्त्री गगन थापासँगको भेटमा पनि भनिसकेको बताए । उपनिर्वाचनमा आफ्नो समूह तटस्थ बस्ने सम्भावना रहेको उल्लेख गर्दै समूहमा छलफल गरेर निर्णय लिने दीपकको भनाई छ । उनले कांग्रेसबाहेक एमाले, रास्वपालगायत दलबाट पनि सहयोगको लागि प्रस्ताव आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर