एमाले सचेतक बर्तौला भन्छन्- टीआरसी विधेयक सत्ता पक्षको एकाङ्की होइन (भिडिओ) – Nepal Press

एमाले सचेतक बर्तौला भन्छन्- टीआरसी विधेयक सत्ता पक्षको एकाङ्की होइन (भिडिओ)

जघन्य अपराधका दोषीलाई मेलमिलाप र उन्मुक्ति दिन सकिँदैन

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताएका छन् ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नुपर्ने
अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने प्रष्ट्याए ।

विषयगत समितिमा विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएरमात्रै विधेयक पारित गर्नुपर्नेमा उनको जोड थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्नेमा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने सचेतक बर्तौलाको भनाई छ ।

उनले भने, ‘टीआरसीको विषयमा उहाँहूले फास्ट ट्रयाकबाट जाने कुरा गर्नुभएको छ । प्रोसेसको कुरा गरिरहनुभएको छ । हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौँ । तर, कन्टेनमा छलफल गरौँ । कतिपय हिसावले कन्टेनमा नै बहस गर्नुपर्ने कुरा छ । त्यसैले यो विषय राष्ट्रिय विषय हो । सत्ता पक्षको एकाङ्की विषय होइन ।’

जघन्य मानव अधिकार उल्लंघनका घटनासँग जोडिएका दोषीहरूलाई मेलमिलाप, उन्मुक्ति दिन नसकिने भन्दै त्यसको प्रतिकूल ऐन बनाउन नमिल्ने बर्तौलाले बताए ।

‘पीडितहरुको भावना समेट्नुपर्ने अवस्था छ । सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरूलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन नसके फेरि पनि मुलुकलाई अर्को नयाँ रुपको
द्वन्द्वात्मक स्थिति पैदा हुन्छ । त्यसैले यसलाई हामी विषयगत समितिमा व्यापक छलफल गर्न चाहन्छौँ । यदी त्यसमा लामो हुन्छ भने विशेष समिति बनाएर पनि जानसक्छौँ । कन्टेनका विषयमा व्यापक छलफल गरौँ, राष्ट्रको साझा विषय बनोस् । यसमा पुनः कुनैपनि प्रश्न नउठोस् ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर