रत्नलाई सम्झेर चिनियाँ भूमिमा बगेका आँसु – Nepal Press
सन्दर्भः रत्न वान्तवा स्मृति दिवस

रत्नलाई सम्झेर चिनियाँ भूमिमा बगेका आँसु

२०३७ को मई दिवसको दिन !

तत्कालीन नेकपा (मा-ले) को दुई सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा हिँड्यो । त्यसमा सी.पी. मैनाली र म थियौँ । हामी सिन्धुपाल्चोक र दोलखाको सीमाबाट पासपोर्ट भिसाबिना हिमाल पार गर्दै चीनको तिव्बत छिरेका थियौँ । सीमा कटाउन्जेलका लागि अमृत बोहरा पनि हाम्रो साथमा हुनुहुन्थ्यो । उहाँ हामीलाई नेपालतिरको बाटो देखाउने हिसाबले साथमा हुनुहुन्थ्यो । तिव्बत छिरेपछि उहाँ फर्कनुभयो । हामी सिगात्से हुँदै ल्हासा पुग्यौँ । ल्हासामा दुई/तीन दिन बसेर सेचुवान प्रान्तको राजधानी छेन्तु पुग्यौँ । त्यहाँबाट हामीलाई बेइजिङ लगियो ।

माओत्सेतुङ बितेको दुई वर्ष भइसकेको थियो । हाम्रा लागि माओत्सेतुङ महान् कम्युनिस्ट नेता थिए । हामी विश्व क्रान्तिका विशिष्ट नायक मान्थ्यौँ उनलाई । उनले बनाएको चीन कुनै भू-स्वर्गभन्दा कम छैन होला भन्ने कल्पना गर्थ्यौं । हामी त्यही भूमिमा पुगेका थियौँ । हामीमा खुसीको कुनै सीमा थिएन । यही असीमित खुसीका बीच हामी बेइजिङ पुगेका थियौँ ।

लामो समयसम्म कडा भूमिगत अवस्थामा रहेका कम्युनिस्ट पार्टीका कार्यकर्ताको हैसियतमा हामीसँग एकजोर लगाएका र एक जोर फेरफारका लागि राखिएका कपडा थिए । त्यसबाहेक कपडाका एक जोर जुत्ता र एउटा एउटा डायरी (नोटबुक) मात्र थिए हामीसित । यी सबै चीज बोक्नका लागि औलो उन्मूलनका लागि खटिएका न्यून वैतनिक कर्मचारीहरूले बोक्ने पहेँलो झोला (रूक स्याक) पिठ्यूँमा बोकेका थियौँ । मनमा दृढता, आँखाभरि सपना, चिनियाँ कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनसित सम्बन्धित थुप्रै जिज्ञासा र प्रश्नहरू लिएर हामी बेइजिङ पुगेका थियौँ ।

म अहिले पनि सम्झन्छु- बेइजिङ पुगुन्जेल र त्यहाँ पुगेपछि पनि हामीले चीनमा हुन लागेको परिवर्तनलाई आशा-भरोसाको सकारात्मक अभियानका रूपमा बुझ्ने प्रयत्न गर्दै थियौँ । तर, त्यो परिवर्तनका सबै पाटालाई मार्क्सवाद-लेनिनवादको क्रान्तिकारी सिद्धान्तको प्रकाशमा कसरी सङ्गतिपूर्ण छ वा हुन सक्छ भनेर व्याख्या गर्ने सवालमा हामीभित्रै ठूलठूला प्रश्न थिए । यस्तै परिवेशमा हामी बेइजिङमा लगातारको झन्डै तीन हप्ताको बसाइमा परेका थियौँ ।

हामीलाई के चाहिँ हेर्नु र के चाहिँ बुझ्नुजस्तो भएको थियो । तथापि, बेइजिङ बसाइ बडो रोमाञ्चक र लाभप्रद दुबै रह्यो । राज्यको विशेष सुरक्षालगायतका सबै प्रबन्धमा रहेको र चिनियाँ कम्युनिस्ट पार्टीद्वारा सञ्चालित बेइजिङ गेस्ट हाउसमा हामीलाई राखिएको थियो । हामी पुगेको दोस्रो दिनदेखि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकृतहरू र हामीबीच औपचारिक रूपमा द्विपक्षीय वार्ता सुरु भएको थियो । हामीबीचको त्यो औपचारिक वार्ता १५ दिनजति चलेको थियो ।

वार्ता प्रारम्भ गर्दै हाम्रो तर्फबाट हाम्रो दृष्टिकोणमा आधारित भएर आफ्नो मुलुकको परिस्थितिका बारेमा जानकारी गराएका थियौँ । औसरवाद तथा संशोधनवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी दिशाविहीन बनायो, कम्युनिस्ट आन्दोलनभित्रका क्रान्तिकारीहरूले कसरी नयाँ ढङ्गले क्रान्तिकारी कम्युनिस्ट पार्टी गठनको प्रक्रियालाई अगाडि बढाए र त्यो अभियानमा चिनियाँ ‘सांस्कृतिक क्रान्ति’ को प्रभाव कसरी जबर्जस्ती रूपमा परेको थियो भन्ने जस्ता विषयमा हामीले हाम्रा दृष्टिकोणहरू राखेका थियौँ । हाम्रो आफ्नो शक्तिको बढ्दो प्रभाव र आउने दिनका योजनाका बारेमा पनि बताएका थियौँ । वार्तामा रहेका चिनिया“ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले हाम्रो प्रस्तुतिलाई बडो रूचिपूर्वक सुनेका थिए । चिनियाँहरूले आफ्ना कुरालाई ‘आफूले प्राप्त गरेका अनुभवहरू’ भन्दै प्रस्तुत गरेका थिए । उनीहरू पटकपटक भन्ने गर्थे- ‘हाम्रा अनुभव तपार्ईंहरूका लागि उपयोगी हुन पनि सक्छन्, नहुन पनि सक्छन् । उपयोगी हुने खालका हाम्रा अनुभवहरू लिनु होला, उपयोगी नहुने खालका अनुभवहरूलाई छोडिदिनु होला, बिर्सिदिनु होला ।’ उनीहरूले सविस्तार चिनियाँ क्रान्तिको इतिहास सुनाए, अनेकौँ मोडमा आएका उतार-चढाव, ऐतिहासिक उपलव्धि र गम्भीर क्षतिका थुप्रै थुप्रै उदाहरणसमेत सुनाएका थिए ।

सुरुका दिनमा सहरकेन्द्रित कोइला खानीमा काम गर्ने मजदुरहरूबीचबाट सुरु गरिएको चिनियाँ क्रान्तिकारीहरूको सङ्गठित हुने प्रयत्न, सामन्ती युद्ध सरदारहरू विरोधी सङ्घर्षमा पुँजीवादी क्वोमिङताङ पार्टीसितको सहकार्य, क्वोमिङताङभित्रका घोर दक्षिणपन्थीहरूको कम्युनिस्टविरोधी रवैया र उनीहरूद्वारा एउटै मोर्चामा रहेका कम्युनिस्टहरूको आमकत्लेआमपछि उनीहरूसितको सहकार्यको अन्त्य र चीनको उत्तरी सेन्सी प्रान्तको चिङकाङसान पहाडमा आधार इलाका बनाएर आफ्नो शक्तिलाई सुरक्षित राख्दै अगाडि बढ्ने कम्युनिस्टहरूको नयाँ पहलकदमी, एक वर्षसम्म हिँडेर पार गरेको विश्व चर्चित ‘लामो अभियान’, येनानको आधार इलाका, येनानमा आधारित हुँदै आफ्नो प्रभाव र सङ्गठन विस्तारमा चिनियाँ कम्युनिस्टहरूले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू, जापानी आक्रमणकारीहरूका विरुद्ध क्वोमिङताङसित पुनः राष्ट्रिय संयुक्त मोर्चाको गठन, संयुक्त मोर्चा भङ्ग र क्वोमिङताङसित अन्तिम लडाइँ तथा त्यसमा प्राप्त गरेको विजय आदि विषय-प्रसङ्गलाई चिनियाँहरूले सुनाएका थिए ।

यो पनि पढ्नुस् : पूर्वको राताे तारा अस्ताएको दिन: जब मदन भण्डारीसामू फुङ्ग उडेको अनुहार लिएर उभिएँ

यी विभिन्न मोडमा चिनियाँ कम्युनिस्ट पार्टीले सफलताका साथ नेतृत्व गरेको र त्यसै क्रममा पार्टी नेतृत्वमा देखापरेका विभिन्न भडकाव, तिनले पुर्‍याएको नोक्सानी र विभिन्न समयमा पार्टीभित्र सञ्चालित औसरवादविरोधी सङ्घर्ष, ती सङ्घर्षका क्रममा पार्टीलाई भएको फाइदा र नोक्सानी आदि विषयमा पनि उनीहरूले बताएका थिए । जनवादी क्रान्ति सम्पन्न भएपछि पार्टीभित्र चलेका विवादहरू खास गरी ‘सांस्कृतिक क्रान्ति’का सम्बन्धमा विवेचनात्मक दृष्टिकोण उनीहरूले राखेका थिए, जसलाई सुनेर हामीहरू त्यसबेला अत्यन्त असजिलो अवस्थामा पुगेका थियौँ । खास गरी ‘सांस्कृतिक क्रान्ति’ कालका गम्भीर कमजोरीहरूबारे जब हामीलाई उनीहरूले बताए, हामीलाई पचाउन नै कठिन भएको थियो ।

हामी दिनभरि चिनियाँ साथीहरूसित वार्तामा बस्थ्यौँ, राती आपसमा कुराहरू गर्थ्यौं । आफ्नै आन्दोलनको समीक्षा पनि गर्थ्यौं । खास गरी, त्यसबेलासम्म नेपाली कम्युनिस्ट आन्दोलनका बारेमा, नेतृत्वका बारेमा, विभिन्न समयमा चलेको विवादका बारेमा, आन्दोलनभित्र देखापरेका दक्षिणपन्थी र ‘वामपन्थी’ औसरवादका बारेमा तथा तिनले पुर्‍याएको भौतिक एवम् मानवीय क्षतिका बारेमा हामीहरू लेखाजोखा गर्थ्यौं । आफूहरूले गर्दै आएको विश्लेषणका बारेमा पनि हामीबीच छलफल भयो । त्यसबेला चल्ने गरेको छलफल, चिनिया“ अनुभवका आधारमा आफैँभित्र चल्न थालेको आत्मसमीक्षाको क्रम पनि थियो जस्तो लाग्छ मलाई । हाम्रो आफ्नो आन्दोलनभित्रका अनेक घटना, दमन-प्रतिरोधका प्रसङ्गहरू, हत्या गरिएका साथीहरूका सम्झनाहरू ताजा भएर आउँथे । हामीहरू कुरा गर्दागर्दै भावविभोर हुन्थ्यौँ । हाम्रा आँखा आँसुले भरिएर आउँथे । साथीहरूको सम्झनाले मन भरिएर आउँथ्यो । यस क्रममा कैयौँ पटक मैले झापा आन्दोलनमा मारिनुभएका कमरेडहरूलाई सम्झेको थिएँ, धनुषामा मारिनुभएका रामप्रीत यादव, भोला साह र झप्सी मण्डलको सम्झनाले मलाई अत्यन्त छटपटीमा पारेको थियो । रत्नकुमार वान्तवाको सम्झनाले मलाई असह्यय स्थितिमा पुर्‍याएको थियो ।

चिनियाँ क्रान्तिकारी आन्दोलन र त्यसक्रममा सहादत प्राप्त गर्ने क्रान्तिकारीहरूका जीवनीमा आधारित सिनेमाहरू हेरेपछि त म रातभरि सुत्नै सक्दिनथेँ । सहादत प्राप्त गर्नुहुने साथीहरूको सम्झनामा आँखाबाट आँसु बग्थे । उग्रवामपन्थी अतिवादका कारणले पार्टीभित्र कति ठूलो नोक्सानी हुन्छ भन्ने कुराको जीवन्त दृष्टान्त ती फिल्म हेरेपछि मिलेको थियो । अत्यन्त उज्ज्वल सम्भावना भएका र विशिष्ट प्रतिभावान् योद्धाहरूसमेत अकारण मारिएका थिए र क्रान्तिले ठूलो नोक्सानी सहनुपरेको थियो । उग्रवामपन्थी अतिवादबाट ग्रस्त भएका बेला मारिएका हरेक चिनियाँ क्रान्तिकारी योद्धाहरूको अनुहारमा मैले रत्नकुमार वान्तवालाई देख्थेँ ।

त्यसवेला मलाई एउटै कुराले सताइरह्यो- झापा सङ्घर्षबाट अभिप्रेरित ‘को-अर्डिनेसन केन्द्र’ अनि ‘मा-ले’ पार्टीमा उग्रवामपन्थी विचार र त्यो विचारबाट निर्देशित व्यवहारहरू नभएका भए सायद रत्नहरूले मारिनुपर्ने थिएन ! बारम्बार यही कुराले मलाई असह्य पीडा दिई नै रह्यो । त्यसवेला म आफू हिँडेको बाटोले मैले सोचेको गन्तव्यमा पुर्‍याउन सक्छ कि सक्दैन भन्ने लागिरहन्थ्यो । अतिवादबाट मुक्त नहुने हो भने आफैँले देखेको सपनालाई साकार पार्न सकिन्छ कि सकिँदैन भन्ने लागिरहन्थ्यो । कुनै कुनै दिन बेइजिङ र त्यस वरिपरि रहेका महत्वपूर्ण स्थलहरू हेर्न जान्थ्यौँ । खास गरी ग्रेटवाल, क्रान्तिकारी इतिहासलाई सुरक्षित राखिएका विभिन्न म्युजियमहरू, नवनिर्मित केही महत्वपूर्ण स्थलहरूको अवलोकन-भ्रमण गराउँथे चिनियाँ साथीहरूले । हामी ती सबै ठाउँको भ्रमणबाट प्रभावित मात्र भएनौँ, धेरै कुरा बुझ्ने मौका पनि मिल्यो । बुझाइ मात्र होइन, हामीहरू धेरै कुरामा आत्मसमीक्षाका लागि अभिप्रेरित पनि भइरहेका थियौँ ।

प्रायः प्रत्येक साँझ हामीलाई चिनियाँ फिल्महरू देखाइन्थ्यो । क्रान्ति कालका, क्रान्तिपछि निर्माणको समयका अनेक घटना-प्रसङ्गलाई अत्यन्त प्रभावकारी किसिमले प्रस्तुत गरिएका फिल्महरूले राजनीतिक परिस्थितिलाई अत्यन्त जीवन्त ढङ्गले बुझ्न सघाइरहेका थिए । त्यस कारणले पनि ती फिल्महरूबाट हामीहरू प्रभावित बनिरहेका थियौँ । केही सिनेमाले हाम्रो मनलाई साह्रै छोएका थिए, भावविभोर बनाएका थिए । तीमध्ये एउटा सिनेमाले त मलाई धेरै नै रूवाएको थियो । ‘डाउन’ (उज्यालो) नामको त्यो फिल्ममा उग्रवामपन्थी अतिवादले चिनियाँ कम्युनिस्ट पार्टी नराम्ररी प्रभावित भएका बेला शत्रुका मान्छेहरू कसरी पार्टीभित्र घुसेर पार्टीलाई नै नोक्सान पुर्‍याएका थिए भन्ने कुरालाई देखाइएको थियो । पार्टीका धेरै होनहार नेता, कार्यकर्ताहरू मारिएका थिए । क्रान्तिकारी सुर्‍र्याइका नाममा अनेकौँ दुस्साहसिक अभियानहरू
सञ्चालित भएका थिए, जसमा हजारौँ-लाखौँ नेता, कार्यकर्ता र जनताले ज्यान गुमाउनुपरेको थियो । उग्रवामपन्थी अराजकतावादबाट नराम्ररी प्रभावित भएका बेला चिनियाँ कम्युनिस्ट पार्टीले उठाउनुपरेको त्यो नोक्सानी अपूरणीय थियो । हत्या गरिएका नेता, कार्यकर्ताहरूको त्याग, समर्पण र बलिदानी भावना अतुलनीय थियो । बेइजिङमा बस्दा हाम्रो दिनचर्या प्रायः दिउँसो वार्ता र बेलुकी (साँझ)तिर यस्तै यस्तै चिनियाँ डकुमेन्ट्री/फिल्महरू हेर्ने हुन्थ्यो ।

बेइजिङगमा बसुन्जेल पार्टीपार्टीको वार्ता र चिनियाँ परिवर्तन सम्बन्धमा जानकारी लिने, यथार्थ बुझ्ने र आफ्नै देशको कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउन आत्मसमीक्षा र आत्मचिन्तन गर्ने एउटा औसर आफूहरूलाई मिलेको जस्तो लागिरहन्थ्यो । बेइजिङपछि हामीलाई साङ्घाई लगियो, जहाँ अत्यन्त प्रतिकूल अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो । त्यसबेलाका सबै प्रसङ्ग हामीलाई बताइएको थियो । हामीले उत्तरी सेन्सी प्रान्तका विभिन्न स्थानहरूको भ्रमण गर्‍यौँ । हुनान प्रान्तको छांग्सा, जहाँ माओत्सेतुङको जन्म भएको थियो, हाम्रा लागि एक किसिमले पुण्यभूमि जस्तै थियो ।चिङकाङसान पहाड, जहाँको चिनियाँ क्रान्तिमा विशिष्ट र ऐतिहासिक महत्व रहेको छ, त्यहाँ हामीलाई दुई दिनजति राखेर घुमाइएको थियो । यनान, साओसान, सियान आदि महत्वपूर्ण स्थलहरू हामीले घुमेका थियौँ । हामी यी ठाउ“हरूमा घुमिरहेका मात्र थिएनौँ, धेरै कुराहरू सिक्दै पनि थियौँ, बुझ्दै पनि थियौँ । चीनलाई, चिनियाँ क्रान्तिलाई बुझ्नका लागि हामीले महत्वपूर्ण अवसर पाएका थियौँ । भ्रमणको यो सिङ्गो अवधिभर मैले भने देशभित्रको आफ्नै स्थिति मात्र सम्झिरहेँ, सहादत प्राप्त गरेका सहयोद्धा कमरेडहरूलाई सम्झिनै रहेँ । ती सबै सम्झनाहरूमा क. रत्न नै मेरो केन्द्रमा रहिरहनुभएको थियो । सिङ्गो चीन बसाइको अवधिमा सहिद साथीहरू, खास गरी क. रत्नको सम्झनामा पचासौँपटक मैले आफ्ना आँखाबाट बगेका आँसुलाई रोक्न सकेको थिइनँ ।

आज रत्नको ७१ औं जन्मदिन तथा ४४ औं स्मृति दिवस !

मेरो जीवनमा झन्डै पाँचवर्षको अनन्यमित्रताका प्रसंगसहित आँखा अगाडि जीवन्त बनेर आउने आदरणीय सहिद साथी रत्नकुमार वान्तवाप्रति श्रद्धासुमन व्यक्त गर्दछु ।

( सहिद साथी रत्नको सम्झनामा ईश्वर पोखरेलद्वारा लिखित ‘पूर्वको रातो तारा’ बाट)


प्रतिक्रिया

One thought on “रत्नलाई सम्झेर चिनियाँ भूमिमा बगेका आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *