पूर्वको राताे तारा अस्ताएको दिन: जब मदन भण्डारीसामू फुङ्ग उडेको अनुहार लिएर उभिएँ – Nepal Press
सन्दर्भः रत्न वान्तवा स्मृति दिवस

पूर्वको राताे तारा अस्ताएको दिन: जब मदन भण्डारीसामू फुङ्ग उडेको अनुहार लिएर उभिएँ

रत्नसित भेट भएको झन्डै एक महिनापछि ‘पूर्व दक्षिण क्षेत्रका प्रमुख मदन भण्डारीसित केही विषयमा छलफल गर्न विराटनगरतिर जानुपर्ने भयो । २०३५ चैत २५ गते म सिरहा–लहान हुँदै विराटनगर पुगेको थिएँ । जनसंघर्षका शृङ्खलाहरूलाई कसरी नयाँ स्तरमा जोड्ने भन्ने विषयमा मदन भण्डारीसँग गम्भीर छलफल भयो । हामी त्यसबेलासम्म सशस्त्र संघर्षलाई संघर्षको मुख्य रूप मान्दै जनताका विभिन्न किसिमका सङ्गठनहरू निर्माण गर्ने र तिनलाई कुशलताका साथ परिचालित गर्दै जनपरिचालनलाई व्यापक र विस्तार गर्नुपर्ने योजना कसरी बनाउने भन्ने कुरामा लागेका थियौँ ।

पुरानो अभ्यासमा रहेका कतिपय सङ्गति नमिलेका कुराहरूलाई हटाउने र परिवर्तित सन्दर्भमा नयाँ अभ्यासलाई विकास गर्नुपर्ने आवश्यकताले हामीलाई घचघच्याइरहेको थियो । हाम्रो त्यो भेटघाटमा क. रत्न पनि आउनुपर्ने थियो । तर, उहाँ ताप्लेजुङतिर जाँदै हुनुहुन्छ भन्ने जानकारी आयो । त्यसैले मदनसितको त्यो मिटिङमा उहाँको उपस्थिति हुन सकेको थिएन । मदन र मैले पछि उपयुक्त समयमा अरू थप केही साथीहरूसहित बसेर विचार हरूलाई थप व्यवस्थित बनाउनुपर्ने निष्कर्ष निकाल्यौँ ।

मदनसँगको कुराकानीपछि म आफ्नो कार्यक्षेत्रमा फर्किदै थिएँ । होसियारीपूर्वक विराटनगरको बसपार्कमा पुगेर पश्चिम लहानतिर जाने बसको खोजीमा आँखा डुलाउँदै थिएँ । बस देखिरहेको थिइनँ । एक्कासि नजिकैको पत्रिका पसलमा मेरो नजर पर्‍यो । अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’को अन्तिम पृष्ठमा छापिएको एउटा समाचारमा मेरा आँखा परे । त्यसमा भनिएको थियो– ‘वान र्‍याडिकल किल्ड इन क्ल्यास वीथ पोलिस इन इलाम’ एउटा सानो कोलममा लेखिएको १० हरफजतिको त्यो समाचार पढेपछि म स्तब्ध बनेको थिएँ !

वरिपरि आँखा घुमाउँदै पटक–पटक त्यो समाचार पढेँ । अनुहार अँध्यारो भएर आयो, आँखा तिरमिराए, ओठ–मुख सुक्यो । एकाएक वाक्य बन्द भएजस्तो भयो । मैले ‘राइजिङ नेपाल’ र ‘गोरखापत्र’ दुवै किनेँ । त्यसपछि लहान जाने बसको खोजी नगरी म जताबाट आएको थिएँ, त्यतै फर्कें । कमरेड सागर अर्थात् मदन भण्डारी बस्नुभएको ठाउँतिर म अगाडि बढेँ । मेरो मनस्थिति असन्तुलित थियो । तैपनि, मेरा पाइलाहरू भने फटाफट अघि बढ्दै थिए ।

मलाई मदन बस्नुभएको कोठामा पुग्न कति समय लाग्यो– त्यसको पनि पत्तो भएन । मदन कोठामै हुनुहुँदो रहेछ । म फुङ्ग उडेको अनुहारमा फर्किएको देख्दा उहाँ अचम्ममा पर्नुभयो । एकछिन त के बोलूँ बोलूँजस्तो स्थितिमा रह्यौँ हामी दुवै जना । केही नबोलीकन मैले ‘गोरखापत्र’मा छापिएको समाचार मदनलाई देखाएँ । उहाँले पनि केही नबोलीकनै सर्सर्ती नजर दौडाउनुभयो । पढ्दा पढ्दै उहाँको अनुहार अँध्यारो भयो । समाचार पढिसकेपछि उहाँ पनि केही बोलिहाल्ने स्थितिमा हुनुहुन्नथ्यो । त्यो दुःखद समाचारबाट हामी मर्माहत बन्यौँ । हामी दुवै जना केही समय मौनताकै बीचमा रह्यौँ ।

मौनतापछि मदनले भन्नुभयो– ‘कमरेड ! तपाईंले आज जनकपुरतिर नगएर ठीकै गर्नुभयो । अब हामीले क. रत्नको हत्यापछि उत्पन्न परिस्थितिका बारेमा गम्भीरताका साथ छलफल गर्नुपर्छ ।’

त्यस रात मदनले केही साथीहरूलाई बोलाउनुभयो । हामीले सानो भेला गर्याै‍‌, श्रद्धाञ्जलीका लागि । त्यहाँ अबेलासम्म रत्नको हत्यासित सम्बन्धित भएर विभिन्न विषयमा छलफल भयो । अन्य परिस्थितिका बारेमा पनि छलफल भयो । क. रत्नको सम्झना र सम्मानमा हामीले गीत गायौँ । केही साथीले शोकमा आँसु नै बगाउनुभयो । हत्याको बदला लिने, शोकलाई शक्तिमा बदल्ने संयुक्त अठोट गर्‍यौँ हामीले ।

रत्नको हत्याका बारेमा त्यसबेलासम्म हामीसित त्यति धेरै सूचना प्राप्त भइसकेका थिएनन् । अधुरा–अपूरा सूचनाका आधारमै हामी कुराकानी गरिरहेका थियौँ । केही दिनपछि हामीले सत्य–तथ्यको जानकारी पायौँ । जस अनुसार, काठमाडौँमा अध्ययनरत सुशीला श्रेष्ठ पूर्णकालीन भूमिगत कार्यकर्ताका रूपमा ताप्लेजुङ जान लाग्नुभएको रहेछ ।

उहाँलाई इलामबाट ताप्लेजुङ पुर्‍याउन ‘पूर्व उत्तर क्षेत्र’को प्रमुखका नाताले रत्न स्वयम् त्यता जाँदै गर्नुभएको रहेछ । उहाँहरू तयारीका साथ इलामबाट ताप्लेजुङ

जान लाग्नुभएको थियो । बिहानै इलामको इभाङ जङ्गलमा सुराकी र पुलिससित उहाँहरूको मुठभेड भयो । त्यसैबेला पुलिसहरूले रत्नमाथि अन्धाधुन्ध गोली प्रहार गरे । रत्नसँगै आउनुभएका

केही साथीहरू यताउता लाग्नुभयो । पुलिसहरू रत्नलाई ताकीताकी गोली चलाइरहेका थिए । उहाँ भने प्रतिरोध र मुठभेड गर्दै अगाडि बढ्न चाहिरहनुभएको थियो । तर, रत्नले आफूलाई बचाउन सक्नुभएन ।

इभाङको जङ्गलमा शत्रुहरूसित अन्तिम समयसम्म लड्नुभएका रत्नले अन्ततः मुट्ठी कस्दै अन्तिम सास लिनुभयो । रत्नको स्वाभिमानी रगतले इलामको इभाङ जङ्गल र पाखा सिञ्चित भयो । त्यस टोलीमा रहनुभएका सुशीला श्रेष्ठ र अन्य साथीहरू कसरी प्रतिक्रियावादीहरूका आँखा छल्दै उम्कनुभयो, पछि गिरफ्तारीमा परेर, चरम यातना सहेर पनि उहाँहरूले कसरी दृढतापूर्वक निष्ठाको झन्डा फहराएर अडिइरहनुु भयो, तिनका छुट्टै गौरवशाली प्रसङ्गहरू छन् ।

रत्नको हत्या भएको खबरले मेरो मन निकै बेचैन थियो । त्यस रात मात्र होइन, त्यसपछिका धेरै रात म राम्ररी निदाउन सकिनँ । २०३० असार १५ गतेदेखि प्रारम्भ भएको रत्नसितको मेरो मित्रता २०३५ चैत २८ गतेसम्म अविच्छिन्न मात्र होइन, अत्यन्त प्रगाढ र कमरेडली सम्बन्धमा विकसित भएको थियो । त्यो सम्बन्ध टुटेन, बरू वैचारिक जगमा झन्–झन् खँदिलो बन्दै गयो ।

रत्नसितको सम्बन्ध देश र जनताको स्वार्थमा समर्पित भइरहने दृढ सङ्कल्पका साथ अगडि बढिरह्यो । हामीले सँगसँगै सपनाहरू देख्यौँ, सपना साकार पार्ने योजनाहरू सँगसँगै बुन्यौँ । कैयौँपटक रत्नसितको सम्बन्ध–सम्पर्कलाई, त्यस अवधिका प्रत्येक घटना–प्रसङ्गलाई मैले एकएक गरी सम्झिरहेँ, सिनेमाका रिलजसरी ती सबै मेरो दिमागभरि घुमी नै रहे ।

मेरा अनन्य मित्र शहिद क. रत्नकुमार वान्तवाप्रति भावपूर्ण श्रद्धान्जली र सम्मान व्यक्त गर्दछु ।

(उल्लेखित सामग्री सहिद रत्नकुमार वान्तवाको सम्झनामा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा लिखित पुस्तक ‘पूर्वको रातो तारा’बाट साभार गरिएको हो । वान्तवा पूर्वी पहाडको पनि खासगरी इलाममा कम्युनिस्ट आन्दोलनलाई पुनःगठित गर्ने अभियानका एक सशक्त अगुवा नेता थिए । उनको तत्कालीन पञ्चायती शासकले गोली हानी हत्या गरेका थिए । वान्तवा र पोखरेल एकबेलाका अनन्य मित्र थिए । आज वान्तवाको ४३ औं स्मृति दिवस एवम् ७० औं जन्मजयन्ती हो)


प्रतिक्रिया

3 thoughts on “पूर्वको राताे तारा अस्ताएको दिन: जब मदन भण्डारीसामू फुङ्ग उडेको अनुहार लिएर उभिएँ

  1. रत्ननको स्वाभिमानी रगतले पोतिएको नेपालको माटो र नेपालीको छाती गौरब अनि हिम्मत हारेका छैनन्,लाल सलाम कमरेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर