युवा संघको महाधिवेशन : नेपालगञ्जमा १० हजार नेता-कार्यकर्ता उतार्ने आयोजकको तयारी – Nepal Press

युवा संघको महाधिवेशन : नेपालगञ्जमा १० हजार नेता-कार्यकर्ता उतार्ने आयोजकको तयारी

युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्छः महेश बस्नेत

रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनले बाँकेको नेपालगञ्ज शहर सिंगारिएको छ । राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनको तयारी पूरा भएको मूल व्यवस्थापन समितिका सहसंयोजक सुमन पुरीले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू नेपालगञ्ज आउने क्रम सुरू भइसकेको छ । महाधिवेशनस्थल कोहलपुरको मैदानमा साजसज्जाका काम भइरहेका छन् । चैत २७-२९ हुने महाधिवेशनका लागि कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म प्रचार सामग्री र स्वागतद्वार राखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापनलगायतका काम धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उद्घाटन समारोहमा १० हजार नेता कार्यकर्ता जुटाउने तयारी युवासंघले गरेको छ । उद्घाटन समारोहमा ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुनेछन् ।

कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष सुमन पुरी, महासचिव, संघका अन्य नेताहरू रवीन्द्र लम्साल, तुलबहादुर अधिकारी, खेम शर्मा, सुरज खरेल लगायत कार्यक्रमस्थलमा केही दिनअघिबाटै खटिएका छन् ।

लुम्बिनी प्रदेशमा महाधिवेशन आयोजना भएकाले लुम्बिनी प्रदेशका संघका नेताहरू प्रतिनिधि व्यवस्थापन, आवास, यातायातलगायत व्यवस्थापनमा अहोरात्र खटिएर महाधिवेशनलाई ऐतिहासिक बनाउन लागिपरेको संघका लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले बताए ।

महाधिवेशनको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी पोलिटव्युरो सदस्य एवम् युवा विभाग इन्चार्ज महेश बस्नेतले समग्र युवा आन्दोलनको समीक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताए ।

‘महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टीकरण र अपराधीकरणलाई परास्त गर्दै अबको कार्यदिशाको गम्भीर समीक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन’, बस्नेतले भने ।

पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको भन्दै प्रतिनिधिको चाहना र भावनाअनुसार अघि बढ्ने बताए ।

‘पार्टी र युवा संघमा राजनीतिक वा वैचारिक कुनै गुटबन्दी छैन पद प्राप्तीको लागि टकराव हुनसक्छ यसलाई हामीले व्यवस्थापन गर्नेछौं, पौडेलको भनाई थियो ।

महाधिवेशनले पार्टीको नीति, निर्णय र नेतृत्वलाई आत्मसाथ गर्दै अहिले युवाको मुद्दामा छलफल गर्नुका साथै राजनीतिप्रति युवा पुस्ताको निराशा अन्त्य गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर