‘अन्टी कांग्रेस’ को प्रश्न- गगन स्कूलबाटै किन बज्छन् ‘घण्टी कांग्रेस’ ? – Nepal Press

‘अन्टी कांग्रेस’ को प्रश्न- गगन स्कूलबाटै किन बज्छन् ‘घण्टी कांग्रेस’ ?

गगनका भाइ टोलीले छानी छानी टिकट पाउँदा समकालीन र सिनियर कांग्रेसका युवा नेता किन भए विकट ?

काठमाडाैं । पछिल्लो समय सामाजिक सञ्जालमा कांग्रेस कार्यकर्ता दुई धारमा विभाजित भएका छन्- अन्टी कांग्रेस र घण्टी कांग्रेस । सामाजिक सञ्जाल विशेष गरी ट्विटरमा कांग्रेसको साइबर दस्ता प्रष्ट रूपमै अन्टी र घण्टी कांग्रेसमा विभाजित देखिन्छ ।

विगतमा गगन पक्षधरलाई खरानी दस्ता भन्ने अन्टी कांग्रेसको साइबर कमाण्ड सिधै आरजु देउवाले गर्ने कतिपयको तर्क छ । आरजुले गत साता काभ्रेको बनेपा गएर गगन थापाको नाम नलिई घण्टी कांग्रेसको संरक्षकको उपाधि दिएपछि अन्टी र घण्टीको बहस सतहमा आएको हो ।

संयोग नै मान्नुपर्छ गगन थापाको स्कूलिङमा हुर्किएकाहरू एकापछि अर्को गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएपछि गगनको गुरुकुलबाट घण्टी कांग्रेस उत्पादन भएको आरोप लागेको हो । गगनले लामो समयदेखि पार्टी र राज्यसत्तामा कसरी नेतृत्व गर्ने भनेर विज्ञहरूसहितको सचिवालय नै चलाइरहेका छन् ।

मिसन पिएम प्रोजेक्ट होस् वा अर्थमन्त्रीको तयारी,गगनले सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर व्यवस्थित तयारी गर्छन् । उनले संसदमा बोल्ने भाषण समेत सचिवालयका विज्ञहरूले तयार पार्छन् । सोसल मिडिया इन्फ्लुएन्सरहरुको टिम नै तयार छ ।

यो पनि पढ्नुस् : स्वर्णिमले किटान गरेको अक्षम गिरोह र ‘करप्ट लेडी’ लाई जेल हाल्ने अडियो टेपको कनेक्सन

उनको टिम यति व्यवस्थित छ कि,सरकारी अस्पतालका एक हृदय डाक्टरले गगनको पक्षमा सामाजिक सञ्जालमा माहौल सिर्जना गर्न साइबर सेलको कमाण्ड लिएका छन् । स्वर्णिम वाग्ले, जुगल भुर्तेलदेखि सार्वजनिक छवि भएका व्यक्तिहरू उनको टिममा छन् (थिए) ।

स्वर्णिमको बहिर्गमनसँगै गगनमाथि घण्टी उत्पादन गरेको आरोपले ठूलो आकार लिएको छ । यो संयोग मात्र पनि हुनसक्छ तर मंसिर ४ को चुनावमा रास्वपाबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गगनमाथि घण्टी कांग्रेसको संरक्षकको आरोप लागेको थियो ।

घण्टी गगनसँग र गगन घण्टीसँग अनुकूल

गगनसँग घण्टी सकारात्मक छ । घण्टीसँग गगन । गगनसँग घण्टी सकारात्मक भएको कुरा गत चुनावमा गगनको क्षेत्रमा घण्टीले उम्मेदवारी नदिएकोबाटै शंका गर्ने ठाउँ छ । काठमाडौँ क्षेत्र नम्बर ४ मा गगन थापाले भारी मतले चुनाव जितेका छन् । त्यहाँ घण्टीको उम्मेदवारी छैन । जबकी काठमाडाैंका अरू नौ क्षेत्र सबैमा घण्टीले उम्मेदवार उठाएर राम्रो मत ल्याएको थियो ।

क्षेत्र नम्बर २ मा सोबिता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा घण्टीका बिराज भक्त श्रेष्ठले जिते । क्षेत्र नम्बर १० मा तेस्रो, ९ मा दोस्रो, ५ मा चौथो, ३ मा तेस्रो, १ मा तेस्रो भएको छ घण्टी ।

यो संयोग मात्र पनि हुनसक्छ तर मंसिर ४ को चुनावमा रास्वपाबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले गगन थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गगनमाथि घण्टी कांग्रेसको संरक्षकको आरोप लागेको थियो ।

काठमाण्डौका दश क्षेत्रमा चार क्षेत्र जितेको घण्टीले हारेको ठाउँमा पनि शीर्ष चार भित्र घण्टी छ । गगनको क्षेत्र नम्बर ४ मा भने रहस्यमय रूपमा घण्टी गयल छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेको चितवन क्षेत्र नम्बर २ मा रविको मत व्यापक आएर जित भयो । त्यहाँ दोब्बर भन्दा धेरै मतान्तरले पराजित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गगनले आफूलाई असहयोग गरेको सार्वजनिक आरोप लाएका थिए ।

एक पटक चितवनमा आएर आमसभा गरिदिन आग्रह गर्दा पनि गगनले नमानेर घण्टीलाई सघाएको आरोप उमेशको छ । मंसिर १६ गते प्राइम टिभीमा ऋषि धमलासँगको अन्तर्वार्तामा श्रेष्ठले रविको घण्टीसँग गगन समूह मिलेको आरोप लाएका थिए । श्रेष्ठलाई आरजुहरुले नै बोल्न लगाएको बताइन्छ ।

गगनका मान्छे किस्ता किस्तामा घण्टी प्रवेश गर्दै

गगन थापा कांग्रेसको साँघुरो घेरामा मात्र सीमित भएका नेता होइनन् । त्यसैले कुनै बेला स्वर्णिम वाग्लेले उनलाई राजनेता हुनसक्ने भनेका थिए र उनले कांग्रेस छाड्दै गर्दा पनि भविष्यमा कांग्रेस नेतृत्वमा गगनहरू आएमा आफू फर्किने स्पेस राखेका छन् ।

गगन थापाको राजनीतिक यात्रामा डा.गोविन्द केसी छुटाउन मिल्दैन । जति बेला केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनको पहिलो संस्करण थाले त्यही बेलादेखि गगन र उनको टिम उनीसँग जोडियो । गगन र गोविन्द केसीलाई अलग गरियो भने दुवैको मिसन कमजोर हुन्छ ।

डा.गोविन्द केसीको अनसनका कारण कति प्राइभेट कन्सल्ट्यान्सी र मेडिकल कलेजहरूले फाइदा लिए ? कति विदेशी कलेजले कमाए ? त्यो अलग पाटो होला तर उनको अनसनले नेपालमा एकै पटक सोसल मिडिया केन्द्रित नेता र अभियन्ताहरू भने उल्लेख्य जन्मायो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उठेको चितवन क्षेत्र नम्बर २ मा रविको मत व्यापक आएर जित भयो । त्यहाँ दोब्बर भन्दा धेरै मतान्तरले पराजित नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गगनले आफूलाई असहयोग गरेको सार्वजनिक आरोप लाएका थिए ।

गोविन्द केसीको अनसनको समर्थनमा माइतीघरमा निस्कने जुलुसहरूबाट रन्जु दर्शनादेखि डा.तोसिमा कार्कीसम्मका अभियन्ता नेताको भूमिकामा देखिए । हरेक चुनावमा अनसनविद् डा.केसीले गगनको लागि मत मागेर भिडिओ पठाउँछन् र त्यसमा गगन स्कूलका अरू पनि पर्छन् ।

हो त्यस्तै अरूभित्रका शिशिर खनालदेखि तोसिमा कार्कीसम्म अहिले रास्वपाबाट सांसद छन् । उनीहरूको घण्टी बज्दा र अरुण श्रेष्ठको रालो काठमाडौं ४ मा खस्दा भन्दा पनि गगनमाथि घण्टी कांग्रेसको दाग चाहिँ मनिष झाका कारण लाग्यो । जुन सिलसिला स्वर्णिम वाग्लेसम्म आइपुग्दा पनि रोकिएको छैन ।

गगन थापाकै सिफारिसमा नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा बसेर काम गरेका झा आम निर्वाचनको मुखैमा रास्वपामा पुगेर समानुपातिक उम्मेदवार बनेपछि गगनमाथि प्रश्न उठ्यो । झाले कांग्रेसबाट समानुपातिक उम्मेदवार अपेक्षा गरेका थिए ।

यो पनि पढ्नुस् : स्वर्णिमको ‘भद्र विद्रोह’बाट विक्षिप्त कांग्रेसजनको अभद्र चित्कार र गगनभेदी कुसंस्कार

गगनसँग निकट भएर काम गरेका शिशिर खनालले घण्टीबाटै काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष चुनाव जितेर सांसद हुँदै शिक्षामन्त्रीको छोटो अनुभव लिइसकेका छन् । यस्तै गगनसँग निकटता राख्ने अरनिको पाण्डे घण्टीमै छन् । उनी र स्वर्णियम वाग्ले आइआइडिएस नामको एउटै संस्थामा छन् ।

विशेष गरी गगनले टिकट बाँड्ने ठाउँमा बसेर प्रदेशमा आफूनिकट युवाहरुलाई सेटल गरेर । उदाहरणका लागि बागलुङमा यस पटक तरुण दलका पूर्व नेता गिरिजाप्रसाद कोइरालाकै पालादेखिका उक्त गुटका खम्बा टेकराज पौडेलले बागलुङमा प्रदेश सभाको टिकट पाएका थिए ।

नेपाली कांग्रेसमा भन्दाबाहिर रहेर विभिन्न संस्था, समूहहरूसँग राम्रो सामिप्यता बनाएका गगनकै स्याटेलाइट दलको रूपमा विवेकशील साझालाई लिनेहरू थिए । गोविन्द केसीको अनसनको समर्थन तथा बन्द विरोधी अभियानबाट सुरु भएको विवेकशील साझालाई कुनै बेला गगनको कृप्टो कांग्रेस भन्नेहरू थिए ।

अहिले विवेकशीले राष्ट्रिय हैसियतको दल हुने योग्यता गुमाएको मात्रै छैन पहिले जस्तो रातपात सकिएको छ । नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टी र उसको चुनाव चिन्ह घण्टीमा हिजोका विवेकशील साझाका पुकार बम, विराजभक्त श्रेष्ठहरु जोडिएका छन् ।

भाइ टोलीलाई टिकट, समकालीन युवा नेता विकट

गगनमाथि लागेको अर्को आरोप हो, उनले टिकट बाँड्ने ठाउँमा बसेर पार्टीभित्र आफ्ना समकालीन र सिनियर युवा नेता होइन भाइ टोलीलाई टिकट दिलाउन पद र ताकतको इस्तमाल गरे । शेखर गुटबाट टिकट बाँड्न बसेका उनले परम्परागत कोइराला गुटका बफादार युवा नेतालाई पाखा लाएर भोलि आफू जता गयो उतै लाग्ने भाइ टोलीलाई टिकट दिएको आरोप छ ।

गगनलाई संसदीय दलको निर्वाचनमा आफ्नै गुटका सबै सांसदले मत दिएनन् । गगनका लागि यी दुई आरोप आगामी राजनीतिक यात्राका लागि चिर्नै पर्ने प्रश्न हुन् । किनकि उनले १० वर्ष मात्र अब सक्रिय राजनीति गर्ने भनेर आफ्नो यात्रा आफैँ छोट्याइसकेका छन् ।

विशेष गरी गगनले टिकट बाँड्ने ठाउँमा बसेर प्रदेशमा आफूनिकट युवाहरुलाई सेटल गरेर । उदाहरणका लागि बागलुङमा यस पटक तरुण दलका पूर्व नेता गिरिजाप्रसाद कोइरालाकै पालादेखिका उक्त गुटका खम्बा टेकराज पौडेलले बागलुङमा प्रदेश सभाको टिकट पाएका थिए ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पौडेललाई बधाई दिँदै टिकट लिन बोलाए । तर उनको टिकट खोसेर सो क्षेत्रमा किशोर सिंह राठौरका ड्राइभरलाई दिइयो र गगनको सचिवालयका डिल्लीराम सुवेदीले टेकराजको साटो अर्को क्षेत्रबाट शेखर गगन समूहको कोटाबाट टिकट फुत्काए ।

यो एउटा उदाहरण मात्र थियो,गगनले गुटका होइन आफ्ना बफादार कार्यकर्तालाई टिकट दिएर समकालीन र सिनियर युवा नेतालाई विकट बनाएको आरोप छ । गगनको पक्षमा हाट्ट हुट्ट र चक्कु खुकुरी समेत चलाउने दीपक गुरुङ माइला, सबिन तामाङ, प्रचण्ड विक्रम न्यौपाने गुण्टु, वीर बहादुर विष्ट, ध्रुव केसीजस्तालाई टिकट दिएको तर आफ्नै गुटका टेकराज पौडेल, मनोजमणि आचार्य, भूपेन्द्र जङ्ग शाहीजस्ता युवा नेताहरूलाई सडकमा अलपत्र पारेको आरोप पनि लाग्ने गरेको छ ।

त्यसो त गगनले लडेर ससुरा अर्जुन नरसिंह केसीको टिकट मिलाए तर मिनेन्द्र रिजाल र महेश आचार्यहरूका लागि त्यतिकै किन लडेनन् भन्ने प्रश्न पनि उनकै टिममा उठिरहेकै छ । केपी ओलीलाई आफैँले बुझाएको १४ जनाको लिस्ट के कारण फिर्ता गरे ? त्यो प्रश्नको जवाफ अझै पाएका छैनन् उनीहरूले ।

त्यसैले होला गगनलाई संसदीय दलको निर्वाचनमा आफ्नै गुटका सबै सांसदले मत दिएनन् । गगनका लागि यी दुई आरोप आगामी राजनीतिक यात्राका लागि चिर्नै पर्ने प्रश्न हुन् । किनकि उनले १० वर्ष मात्र अब सक्रिय राजनीति गर्ने भनेर आफ्नो यात्रा आफैँ छोट्याइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *