उपचुनाव : आजदेखि आचारसंहिता लागू – Nepal Press

उपचुनाव : आजदेखि आचारसंहिता लागू

काठमाडौं । वैशाख १० को उपचुनावलाई लक्षित आजदेखि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको हो ।

शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ । आचारसंहिताको कार्यान्वयनका लागि आचारसंहिता अनुगमन समितिलाई परिचालन गरिनेछ ।

आचारसंहिता उल्लंघनका घटनाबारे लिखित, मौखिक, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आधार र कारण खुलाई प्रमाणसहित उजुरी दिन पाउने व्यवस्था गरेको आयोगको भनाई छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन, कोही-कसैको चरित्र हत्या, व्यक्तिगत आरोपप्रत्यारोप, मानहानि हुने खालका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न नगराउन पनि सचेत गराएको छ ।

मौन अवधि भने मतदान सुरू हुनु ४८ घण्टाअगाडि सुरू हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर