सहकारी दिवस : बढ्यो पीडितको गुनासो, समस्या समाधानमा छैन कसैको चासो – Nepal Press

सहकारी दिवस : बढ्यो पीडितको गुनासो, समस्या समाधानमा छैन कसैको चासो

रुपन्देही । लुम्बिनी प्रदेशमा संकटमा देखिएका सहकारीमा अधिकांश शाखा विस्तार गरेकाहरु छन् । धेरै ब्याज पाउने लोभमा यस्ता सहकारीमा रकम जम्मा गरेका बचतकर्ताहरु लामो समय कुर्दा पनि बचत नपाएपछि अन्योलमा परेका छन् । यस्ता सहकारीमा समस्या आएका समाचार बाहिरिएसँगै सामान्य सहकारीका बचतकर्ताले पनि आफ्नो रकम निकाल्न थालेका छन् ।

आफ्नै बचत निकाल्न नपाए पनि नियामक निकायको ध्यान जान नसकेको गुनासो पीडितको छ । लुम्बिनीमा ३ हजार ७५५ सहकारीको ४२ अर्ब लगानी, ६० अर्ब निक्षेप र ६ अर्ब शेयर पूँजी रहेका रेकर्ड सहकारी बोर्डमा छ । यो २०७७ सालको तथ्याङ्क हो । त्यसयताको तथ्याङ्क अझै अद्यावधिक भएको छैन । तर, बाहिरबाट यहाँ कारोबार गरेकाहरुलाई प्रदेश सरकारी र स्थानीय तहले नियमन गर्न नपाएकाले समस्या बढेको हो ।

प्रदेशका सहकारी रजिस्ट्रार भीमप्रसाद तिवारीले सहकारीमा सुशासन नहुँदा पछिल्ला दिनमा कसैले प्रदेश रजिष्ट्रार कार्यालय, कसैले जिल्ला प्रशासनतिर उजुरी दिन थालेको बताए । उनले आफूकहाँ अहिले करिब एक दर्जन जति उजुरी आएको जानकारी दिए ।

प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा सञ्चालित केही सहकारीमा समस्या देखिएकाले सरकारले कानूनी प्रक्रिया अगाडि बढाएको र आफूहरूकहाँ सहकारीबाट ठगिएको भन्दै निवेदन आउने क्रम जारी रहेको जानकारी दिए । प्रदेशमा दर्ता नभएका तर कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका केही सहकारीमा समस्या देखिएको उनले बताए ।

सञ्चालकहरूबाटै अपचलन गरेको रिपोर्ट आएकाले नियामक निकायसँगको समन्वयमा गम्भीर अनुसन्धान सुरु भएको उनको भनाइ छ । आफूहरूले बाँके जिल्लाको नमस्ते सहकारीबारे आएको निवेदनलाई छानबिन गरेर अपचलन भएको रिपोर्ट पेस गरेको उपाध्यक्ष पोखरेलले उल्लेख गरे । उनले अहिले सम्पर्कविहीन अध्यक्ष र व्यवस्थापन पक्ष ऋण उजुरी समितिको सम्पर्कमा आएको जानकारी दिए ।

स्थानीय तह र प्रदेशमा दर्ता भएका सहकारीभन्दा संघमा दर्ता भएर जिल्लाजिल्लामा शाखा कार्यालय सञ्चालन गरेका सहकारीमा धेरै समस्या देखिएको छ । प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्बिनीका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा भन्दा बाहिर दर्ता भएर आएका सहकारीमा समस्या देखिएको बताए ।

सहकारीको मूल सिद्धान्तभन्दा बाहिर रहेर व्यापारीकरणका लागि खोलिएका सहकारीमा समस्या देखिएको र त्यसप्रति समग्र सहकारी सचेत बन्नुपर्ने उनको भनाइ छ ।

प्रदेश सहकारी संघका अनुसार रुपन्देहीमा २०६४ मा स्वर्णिम सहकारीमा समस्या आएको थियो । अहिले रुपन्देहीको भलवारीमा रहेको कल्पवृक्ष, बुटवलमा रहेको शिव शिखर, सुप्रिम, आगन्तुकसहितका १० वटा सहकारीमा समस्या आएको संघले जनाएको छ ।

सहकारीको संख्या अत्यधिक रहेको र नियमन गर्ने निकायमा कर्मचारी कम रहेका कारण पनि समयमै समस्या पहिचान गर्न कठिनाइ भएको बुझिएको छ ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी सञ्चालनका लागि बाहिरबाट ऋण लिने र सर्वसाधारणबाट क्षमताभन्दा बढी रकम संकलन गरी उक्त रकम बाहिर लगानी गर्ने गरेको र पैसा नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न समस्या परेको बताए ।

सहकारीमा देखिएका समस्या समाधान गर्न आफूहरुले पहल गरिरहेको उनी बताउँछन् । नवलपरासीदेखि बर्दियासम्म तराईका जिल्लामा समस्यामा परेकामध्ये अधिकांश संस्थाले सहकारीसम्बन्धी कानून उल्लंघन गरेर कारोबार गरेको उजुरी परेका छन् ।

सहकारी रजिस्ट्रार तिवारीका अनुसार प्रदेशमा रहेका ७७१ बचत तथा ऋण सहकारी संस्था नियमन गर्न प्रदेश सरकारको नियामक निकायसँग जम्मा ६ जना कर्मचारी छन् । तिवारीले पछिल्लो समय सहकारीमा समस्या देखिन थालेपछि इमेलबाट भए पनि निवेदन दिन आफूहरुले बचतकर्तालाई आग्रह गरेको बताए ।

अहिलेसम्म एक सयभन्दा धेरै सहकारीको प्रत्यक्ष अनुगमन गरेको र अझै अनुगमनको क्रम जारी रहेको उनको भनाइ छ । रुपन्देहीमा विभिन्न प्रकृतिका ७७९ वटा सहकारी छन् । यस्तै दाङमा ६२७ वटा सहकारी सञ्चालनमा देखिन्छन् । मुलुक संघीयतामा गएपछि सहकारीको यकिन तथ्यांक भने राखिएको छैन ।

२०७७ सालसम्मको विवरणअनुसार रुपन्देहीमा १६ वटा स्थानीय तहका १ लाख ७४ हजार ७३३ नागरिक सहकारीमा आवद्ध छन् । दुई वटा पालिकासम्मका लागि स्थानीय तहमै दर्ता भएर सञ्चालन हुने नियम छ । दुईभन्दा धेरै स्थानीय तहमा सहकारी सञ्चालन गर्नुपरेमा प्रदेश सरकारले हेर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर