नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह- ठूला माछा समात्न प्रहरीले कुरिरहेका यी दुई ‘क्लु’ – Nepal Press

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह- ठूला माछा समात्न प्रहरीले कुरिरहेका यी दुई ‘क्लु’

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहमा तल्लो र बीचमा बसेर काम गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले निकै पहिला चर्चामा आएर बन्द रहेको फाइल खोल्दै पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाका पूर्व पीए केशव दुलाल समेतलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक दावी छ, ’यसको नेक्सस गृह मन्त्रालयसम्म छ, मन्त्री र उच्च सरकारी कर्मचारी र उनिहरुका आफन्तका नाममा समेत पैसा बुझिएको भन्ने छ ।’

स्रोतका अनुसार पक्राउ परेकाहरुले आफैं पीडित भएको बताइरहेका छन् । तीमध्ये सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै पैसा उठाएर नगरेको दावीसहित उच्च अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष उजुरी दिएका थिए ।

‘तर उजुरीमाथि छानबिन भएन । तलबाट पैसा उठाउन लगाएर हामीलाई मुर्गा बनाइयो । हामीले पैसा पनि बुझायौँ, काम पनि भएन’, भण्डारीको भनाई उदृत गर्दै एक अनुसन्धान अधिकारी भन्छन् ।

प्रहरीकहाँ हालसम्म करिब १५० जनाको जाहेरी परिसकेको बताइएको छ । ‘जाह‍ेरी थपिन‍ेक्रम जारी छ’, काठमाडौं प्रहरी परिसर स्रोतका एक अधिकारीले भने । पीडितले जनही २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको दाबी गरेका छन् ।

तेस्रो मुलुक पुनर्स्थापन हुन छुटपुट रहेका भुटानी शरर्णाथीको समस्या समाधान गर्न गृह मन्त्रालयले सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ सालमा गठन गरेको कार्यदलले तयार गरेको गोप्य प्रतिवेदनमा नाम समावेश भएको भन्दै पीडितलाई गिरोहले फोटो खिचेर पठाएका थिए ।

पीडितले उक्त फोटोकपी पनि जाहेरीसहित बुझाएका छन् । कार्यदल बन्नु अगावै गिरोहले उनिहरुसँग पैसा उठाउन सुरु गरेको बताइएको छ । तर माथिल्लोस्तरमा रहेकालाई पैसा बुझाएको प्रमाण नरहेकाले अनुसन्धान गर्न सजिलो नभएको अधिकारीहरु बताउँछन् ।

‘गृह मन्त्रालयमा रहेको भनिएको गोप्य प्रतिवेदनमा यदि पीडितको नाम रहेछ भने माथिसम्म पुग्छ सजिलो हुन्छ । तर पीडितलाई पठाइएको भनिएको डकुमेन्ट सक्कली हो की नक्कली भन्ने कुरा थाहा हुनुपर्छ, पहिला । यसमा गृह मन्त्रालयले सहयोग गर्नुपर्छ । गृह मन्त्रालयले उक्त डकुमेन्ट पठाएको अवस्थामा वास्तविकता थाहा हुने छ’, काठमाडौं प्रहरी परिसरका एक अधिकारी भन्छन् । यता पक्राउ परेका चार जनाको धमाधम बयान लिने काम भइरहेको छ । परिसर स्रोतका अनुसार हालसम्म २ जनाको बयान भइसकेको छ ।

‘पक्राउ परेकाले बयानमा ठूला माछाको नाम पोलेको अवस्थामा पनि अगाडि बढ्न सजिलो हुन्छ । यसमा सजिलो के छ भने अहिले हाम्रो हिरासतमा रहेकाहरु आफैं पनि पीडित भएको बताइरहेका छन् । त्यसैले उनिहरुले नाम पोल्छन् भन्ने हामीलाई लाग्छ’, ती अधिकारी भन्छन् ।

अभियुक्तले नाम पोलेको अवस्थामा पनि अगाडि बढ्न सजिलो हुने बताइन्छ। हालसम्म बयान लिइएकाले के खुलाए भन्ने गोप्य राखिएको छ । यता अनुसन्धानका क्रममा गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदन झिकाउने विषयबारे पनि प्रहरीले केही सार्वजनिक गरेको छैन ।

यता अनुसन्धानको उठान गरेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अधिकारीहरु अबको काम काठमाडौं प्रहरी परिसर र सरकारी वकिल कार्यालयको भएको बताउँछन् । एक अधिकारी भन्छन्, ‘अनुसन्धानलाई कुन दिशातर्फ लैजाने र कहाँसम्म पुर्याउने भन्ने हात अब काठमाडौं प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा रहेको छ, ती अधिकारी भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर