नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थपित गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ – Nepal Press

नेपाल प्रहरीलाई गौरव गर्न लायक संगठनका रूपमा स्थपित गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जोड दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले गैरकानूनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए ।

नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने भन्दै त्यसका लागि नयाँ नीति योजना आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन । गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दा प्रहरीले सुनिदिनुपर्छ’, उनले भने, ‘हामीले शासकीय अहंकार देखाउने । त्यो सासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’

सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने उनको भनाई छ ।

‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ । प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ’, मन्त्री श्रेष्ठले भने ।

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकाय क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्ति विकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उनको भनाई थियो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको सुद्धीकरण सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताए । उनले त्यसका लागि आफू दृढताका साथ लागेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *