गगनको टिप्पणी- ‘नो नट अगेन’ भन्नेहरूको पनि देखियो – Nepal Press

गगनको टिप्पणी- ‘नो नट अगेन’ भन्नेहरूको पनि देखियो

‘कांग्रेस माओवादी मिलेर बनेको सरकार पाँच वर्ष कहीँ जाँदैन’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै पुराना पार्टीहरु खराब भए ‘नो नट अगेन’ भन्नेहरूको पनि देखिएको टिप्पणी गरेका छन् ।

तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा बोल्दै उनले माओवादी, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनको साझा उम्मेदवारको जित निश्चित भएको बताए ।

थापाले भने, ‘यो निर्वाचनको बेलामा एउटा नयाँ गीत पनि आउँछ पुराना पार्टीहरूले काम गर्दैन नयाँ पार्टी चाहिन्छ भन्छन् । केही समयअघि चितवन, तनहुँ, पोखरा, काठमाडौंलगायत ठाउँठाउँमा सुन्यौं । नेपालका पुराना पार्टीहरू खराब भए नो नट अगेन । पुराना नेताहरू निर्वाचित गराउन हुँदैन । हामी नयाँ हौं सबै कुरा नयाँ ढंगबाट गर्छौं । हामीले सुन्यौं । जनताले पत्याउनु पनि भयो । पहिलो पटकमै २० औं सीट जितेर साथीहरू संसदमा आइपुग्नुभयो । उहाँको पनि देखियो ।’

उनले केन्द्रमा कांग्रेस माओवादीको सरकार बनेकाले चाहेअनुसारको विकास निर्माणको काम गर्न सकिने बताए ।

थापाले थपे भने, ‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्दैछ । केन्द्रमा कांग्रेस माओवादी मिलेर बनेको सरकार कहिँ जाँदैन । तपाईहरुको विकासको आकांक्षा छ । त्यो सरकारले पूरा गर्छ । यो बेलामा नमिलेको र बिग्रेको कुरा केही छैन ।’

उनले आफू पनि धेरै गठबन्धनवाल राजनीतिको पक्षमा नभएको उल्लेख गर्दै जनताको बीचमा राजनीतिक दलले निर्णय गरेर गइसकेपछि त्यसमा इमान्दारितापूर्वक उभिन सक्नुपर्ने बताए ।

उनले भने, ‘पुस १० गते एमालेले माओवादी, रास्वपा, राप्रपासँग मिलेर गठबन्धन बनाउँदा ठीक । २०७४ सालमा एमाले र माओवादी मिलेर नयाँ पार्टी नै बनाउँदा ठीक। पाँच वर्ष निर्वाचित भएर आएपछि तीनै वर्षमा संसद विघटन गर्दा ठीक तर, अहिले गठबन्धनले देश बिगारे भन्दै आउँछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर