गभर्नर नचिढ्याउने पक्षमा अर्थमन्त्री महत, सरुवाको त्रासमा कर्मचारी – Nepal Press

गभर्नर नचिढ्याउने पक्षमा अर्थमन्त्री महत, सरुवाको त्रासमा कर्मचारी

काठमाडौं । गएको फागुन १५ गते विष्णु पौडेलले राजीनामा दिएपछि रिक्त अर्थ मन्त्रालयले ३२ दिनपछि नयाँ अर्थमन्त्री पायो । चैत १७ गते साँझ पदभार ग्रहण गरेका अर्थमन्त्री डा. प्रकाशशरण महतको नियमित काम भने आज शुरु भयो ।

मन्त्रालयमा बिहानैदेखि चहलपहल देखियो । उद्योगी व्यवसायीलाई रिझाउन पदभार ग्रहण गरेकै दिन फोन गरेर सुझाव मागेका अर्थमन्त्री महतले आइतबार बिहान उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई मन्त्रालयमै बोलाए । उनले अहिलेको समस्या र समाधानका विषयमा सुझाव मागे ।

अर्थमन्त्री महतले आइतबार नै मन्त्रालयका ९ वटा महाशाखासँग वान टु वान ब्रिफिङ लिए । सबैभन्दा पहिला आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहालले अर्थमन्त्रीलाई अहिलेको आर्थिक अवस्थाको विषयमा जानकारी गराए । बजेट महाशाखाका धनीराम शर्माले अहिलेसम्मको बजेट खर्चको अवस्था र आगामी बजेटको प्रगतिका विषयमा डा. महतलाई जानकारी गराए ।

एकएक गर्दै महाशाखाले आआफ्नो क्षेत्रसँग सम्बन्धित विषयका बारेमा अर्थमन्त्रीलाई ब्रिफिङ गरेको थियो । सबै ब्रिफिङ सुनेका अर्थमन्त्रीले कर्मचारीलाई भने कुनै निर्देशन दिएनन् । शुक्रबार पदभार ग्रहण गरेकै बेला अर्थतन्त्रको समस्या समाधान गर्ने बताएका अर्थमन्त्रीले कोही कसैसँग पूर्वाग्रही सम्बन्ध नराख्ने बताएका छन् । उनले नेपाल राष्ट्र बैंकलगायत सबै नियामक निकायसँग समन्वय हुने उल्लेख गरेका छन् ।

अर्थमन्त्री महतले आर्थिक अवस्था स्लोडाउन भएकाले फुल फेजमा काम गर्न भनेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । वान टु वान ब्रिफिङ लिएका उनले सोमबारमात्र सबै कर्मचारीलाई एकमुष्ट निर्देशन दिने बुझिएको छ ।

गर्भनरलाई हात लिने प्रयास

अर्थमन्त्री डा. महतले पदभार ग्रहण गरेकै दिन राष्ट्र बैंकको नाम धेरै पटक उच्चारण गरे । सोही दिन गर्भनर महाप्रसाद अधिकारीसँग अर्थमन्त्रीले छुट्टै छलफल पनि गरेको अर्थका कर्मचारी बताउँछन् । आजैमात्र व्यवसायीसँगको छलफलमा धेरै समस्या राष्ट्र बैंकसँग नै जोडिएको भन्दै गभर्नरसँग समन्वय गरेर अघि बढ्ने सहमति भएको बताएका थिए ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकसँग इगो साँध्दा समग्र अर्थतन्त्र नै बिग्रन बल पुगेको विश्लेषण भएको थियो । अहिले नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका महतले गर्भनरलाई हात लिएर अघि बढ्ने संकेत गरेका हुन् । उनको पहिलो छलफलले नै गभर्नरसँग समन्वय गर्ने संकेत देखाएको छ ।

अहिले बैंकको ब्याजदर, तरलता (लगानीयोग्य रकम), बैंकको ऋणलगायतका विषय सडकमै छन् । यसलाई अर्थतन्त्र नकारात्मक बन्नुको एउटा कारण पनि मानिएको छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा समस्या समाधान हुने भन्दै समन्वय मजबुत बनाउनुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् ।

शर्माको कार्यकालबाट पाठ सिकेका डा. महतले सबैसँग पालैपालो समस्या सुनिरहेका छन् ।

सरुवाको त्रासमा कर्मचारी !

बजेट निर्माणको कार्यतालिका नै बनाएर काम गरिरहेको मन्त्रालयमा नयाँ अर्थमन्त्री आएसँगै केही कर्मचारीमा सरुवा हुने त्रास देखिएको छ । मन्त्रालयका एक सहसचिव बजेटको लागि कोर टीम परिवर्तन हुन सक्ने बताउँछन् ।

उनी भन्छन्, ‘अघिल्लो पटक अर्थमन्त्रीमा विष्णु पौडेल आउँदा पनि कर्मचारीको विज्ञतालाई हेर्छु सरुवातिर लाग्दिनँ भन्नुभएको थियो । तर, त्यसको दुईचार दिनपछि सरुवा गर्नुभयो । अहिले त झन् बजेट लेखनको समय छ । मन्त्रीलाई विश्वास लागेको टीम चाहिन्छ । यसकारण पनि केही तलमाथि होला भन्ने लागेको छ ।’

अर्थमन्त्रीसँग नयाँ बजेट बनाउन २ महिनाभन्दा कम समय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर