रेनुका पुराना बागीलाई कांग्रेसको आममाफी: चितवन, बारा र तनहुँका नयाँ बागीको हकमा उपचुनाव हेर्ने – Nepal Press

रेनुका पुराना बागीलाई कांग्रेसको आममाफी: चितवन, बारा र तनहुँका नयाँ बागीको हकमा उपचुनाव हेर्ने

काठमाडौं । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ ।

सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

‘७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’

७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य दिनेश कोइरालालाई भने एमालेले साथ दिएको थियो । यहाँ कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

त्यस्तै बारामा अरुण ज्ञवालीले बागी उठेर ८ हजारभन्दा बढी मत ल्याएका थिए ।

कार्यसम्पादन समितिको बैठकले बारा २ मा उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारमा पठाउन बाँकी ४ जना मन्त्रीको विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिइयो ।

कारबाही फुकुवा हुनेमा तनहुँका गोविन्दराज जोशी, कारबाही पनि फुकुवा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर