चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको उपाधि – Nepal Press

चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको उपाधि

सिमरा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।

उपाधिसँगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पार्‍यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयाँमा चित बुझायो ।

प्रतियोगितामा पहिलो पटक सहभागी चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईँले गोल गरे ।

खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको हिमालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिम सम्म संघर्ष गरेको थियो ।

खेलको छैटौँ मिनटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सेन्टर लाइनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

दश खेलाडीमा सीमित बनेर पनि चर्च ब्वाईजलाई शेर्पाले पहिलो हाफको अन्तिम सम्म कडा चुनौती दिएको थियो । खेलको ३५ औँ मिनटमा मिलन राईले फ्री किक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । डिबक्स बाहिरबाट कप्तान मिलन राईले गरेको प्रहार सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न हिमालयन शेर्पाका गोल किपर किशोर गिरी असफल देखिए ।

दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईँले गोल गर्दै अग्रता दोब्बर बनाए । काउन्टर एट्याकमा आशिषले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाउँदै टीमका लागि दोस्रो गोल गरे ।

विधागत पुरस्कार तर्फ पनि जीतपुरसरिमा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै वर्चस्व रह्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाईँ घोषित भए उनीहरूले समान २० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनिल श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती युवा क्लब सिमराका दिलीप माझी घोषित भए उनले नगद पन्ध्र हजार प्राप्त गरे ।

अनुशासित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *