गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआए आन्दोलन गर्ने व्यवसायीको चेतावनी – Nepal Press

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन नआए अब चुप लागेर नबस्ने बताउँदै यहाँका उद्योगी व्यवसायीहरुले नियमित रुपमा सञ्चालन नआए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सञ्चालन भएको १० महिनाभन्दा बढी समय बितिसक्दा पनि नियमित रुपमा विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रले गरेको अरबौंको लगानी डुब्ने भन्दै जवाफदेही नियामक निकाय हुनुपर्ने बताएका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले विमानस्थल सञ्चालन हुने आशामा निजी क्षेत्रले अरबौंको लगानी गरेपनि अहिले निराशा बनाएको बताए । बैंकबाट ऋण लिएर व्यवसायीले अरबौं लगानी होटल लगायतका क्षेत्रमा गरेकाले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘एअरपोर्ट पूर्णरुपमा सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकाका प्रमुखज्यूले नै अगुवाइ गर्नुपर्छ । ’विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिनका लागि विमानस्थलमा धर्ना दिएर आन्दोलन सुरु हुने भण्डारीको भनाइ छ । उनले भने, ‘व्यवसायीहरु अब चुप लागेर बस्दैनौं । हामी धेरै नै मारमा परेका छौं । त्यसैले अब आन्दोलनमा जानुको विकल्प छैन ।’

पर्यटन प्रवद्र्धनका लागि भारतीय पर्यटकलाई कम्तीमा भारु ५ लाख नेपाल बोकेर ल्याउन दिनुपर्ने उनले माग गरे । उनले भने, ‘भारतीय पर्यटकले नेपालमा भारु २५ हजार रुपैयाँ मात्र ल्याउन पाउँछन, अनि उनीहरुले खर्च नै गरेनन् कसरी भन्न मिल्छ ?’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले विमानस्थलमा हप्तामा तीनदिन मात्रै जजिरा एअरलाइन्सले उडान गरेको बताए ।

उनले विमानस्थल उद्घाटन भएको १० महिना बढी बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको बताउँदै हप्तामा तीन दिन मात्रै उडान गर्न अबौंंको लगानीमा विमानस्थल निर्माण भएको हो ? उनले प्रश्न गरे । भैरहवादेखि भारतीय शहरहरुमा सिधै उडान हुनुपर्ने उनको भनाइ छ ।

भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले आन्तरिक व्यापार प्रवद्र्धनका लागि सीमानाकामा कडाइ गर्नुपर्ने बताउँदै बजार क्षेत्रका सटरहरु बन्द भइ व्यवसाय पलायन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

पर्यटन व्यवसायी संजय बजिमयले विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआए निजी क्षेत्रले गरेको लगानी डुब्ने बताउँदै नेपाल वायु सेवा निगमको विमान सञ्चालन गर्नका लागि सरोकारवाला पक्षले ध्यान दिनुपर्ने बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्नु सरकारको कमजोरी भएको बताउँदै भने– ‘सरकारले जग्गा विक्री गर्दा त चारकिल्ला तोकेर मात्रै विक्री गर्छ भने अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा छिमेकी मुलुकसँग समन्वय नगरी कसरी बन्यो ?’

लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले पर्यटकले खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँछन् भने होटल व्यवसायी महासंघ, नेपालका उपमहासचिव राजेश महोत्राले सरकारले आफूहरुको मागको सुनुवाइ नगरे व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।

पर्यटन व्यवसायी रवि शर्माले लुम्बिनीका मोनाष्ट्रीमा पर्यटकको बसाइ हुँदा होटल व्यवसाय धरासायी भएकाले अब नयाँ रणनीति बनाउनुपर्ने बताए । स्थानीय शिवम जयसवालले आन्तरिक व्यवसाय प्रवद्र्धनका लागि सीमा नाकामा कडाइ गर्नुपर्ने माग गरे । स्थानीय कमला थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गर्न ध्यान नदिए आन्तरिक उडान समेत ठप्प पार्ने समय आउनसक्ने बताइन् ।

व्यवसायी कृष्ण पाण्डेले व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए । उनले खुल्ला बोर्डरका कारण स्वदेशी व्यापार शुन्य अवस्थामा पुगेको बताए ।

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रमा दुःख दिने गरिएको बताए ।

पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै ठूला होटलहरु खुलेकाले विमानस्थल नियमित सञ्चालनमा आउनुपर्ने बताए । पर्यटन व्यवसायी सागर अधिकारीले अब आन्दोलनमा जानुपर्ने बाध्यता आएको धारणा राखे ।

सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले अब व्यवसायी चुप लागेर नबस्ने बताउँदै भने, ‘यही अवस्था रहे अब आन्तरिक उडान पनि बन्द गर्छौं ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक हशंराज पाण्डेले निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले स्वदेशी विमान कम्पनीहरूले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न चासो देखाउनुपर्ने बताए ।

उनले भने, ‘आफ्नै देशको प्रचार पहिला स्वदेशी विमान कम्पनीहरूले गर्नुपर्ने हो । तर, उनीहरूले गर्न सकेका छैनन् । स्वदेशी विमान कम्पनीहरूले राम्रो सन्देश दिन सक्ने हो भने विदेशी कम्पनीहरू पनि आउँछन् ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आन्दोलन नै समस्याको समाधान नभएको बताउँदै विमानस्थलमा पर्यटक आउने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यात्रुको सहजता र सुविधामा पनि ध्यान दिनुपर्छ ।’

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भाषण गरेर मात्र समस्याको समाधान नहुने बताए । उनले सबै आ–आफ्नो क्षेत्रबाट सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले भने, ‘सबैको साथ र सहयोग बिना अगाडी बढ्न सकिदैन । बन्द हड्तालबाट समस्या समाधान हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर