कांग्रेसमा मन्त्री छान्न सकस- एउटै मन्त्रालयमा पूर्णबहादुर र रमेशको दाबी – Nepal Press

कांग्रेसमा मन्त्री छान्न सकस- एउटै मन्त्रालयमा पूर्णबहादुर र रमेशको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा पठाउने मन्त्रीको नामबारे शीर्ष तहमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्रीको शपथ ३ बजे गराउनेगरी तयारी थालेपनि कांग्रेसभित्र मन्त्री छनौट पेचिलो बनेको हो ।

अहिले पनि मन्त्रीबारे छलफल गर्नका लागि नेताहरूको बैठक बसिरहेको देउवानिकट नेता मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘केही बाहिर चर्चामा आएकै नाम हुन् । तर, अहिलेसम्म टुंगिएको छैन । त्यसबारे अहिले शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । टुंगिएको छैन ।’

प्रचण्ड सरकारमा कांग्रेस ८ मन्त्रालय लिएर उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाँदैछ । तर, खड्काले उपप्रधानसहित रक्षा कि परराष्ट्र मन्त्रालय लिएर जाने भन्ने अहिलेसम्म टुंगो नलागेको एक नेताले बताए ।

देउवानिकट ती नेताले भने, ‘अरु मन्त्रीबारे बाहिर आएकै हुन् । तर, पूर्णबहादुर र रमेश रिजाल दाइले परराष्ट्र र रक्षाको जिम्मेवारी कसले सम्हाल्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । शीर्ष तहमा छलफल जारी छ ।’

कांग्रेसबाट प्रकाशशण महत अर्थ, एनपी साउद सहरी, धनराज गुरुङ सामान्य, मोहन बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बू कानून मन्त्रालय लिएर जाने सम्भावना रहेको ती नेताले बताए । सीता गुरुङलाई भूमि मन्त्रालयको जिम्मेवारीमा पठाउने पहल गरेपनि नागरिक उन्मुक्तिले रोजेपछि युवा मन्त्रालयको सम्भावना छ ।

तर, इतर समूहले ३ मन्त्रालय नघट्ने अडान राखेकाले पनि सम्भावित मन्त्रीहरूको नाम फेरिनसक्ने नेताहरुको भनाई छ । सभापति शेरबहादुर देउवाले अहिले ८ मध्ये २ मन्त्रालयमात्रै दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर