कर्णालीका मुख्यमन्त्रीलाई क-कसले देलान् विश्वासको मत ? – Nepal Press

कर्णालीका मुख्यमन्त्रीलाई क-कसले देलान् विश्वासको मत ?

कांग्रेस र एमाले आन्तरिक छलफलमा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

गठबन्धन फेरिए पनि कर्णालीमा माओवादी-एमाले सत्ता सहकार्यमै छन् । यहाँ आधाआधा मुख्यमन्त्री चलाउने यी दुई दलबीचको सहमति छ । एमालेले माओवादीले गर्ने व्यवहारको आधारमा सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने बताउँदै आएको छ ।

यस्तै, कांग्रेसको पनि विश्वासको मत दिने/नदिने निर्णय लिन कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।

साथै १ बजे संसदीय दलको बैठक बस्ने प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले जानकारी दिएका छन् ।

उनले भने, `केन्द्रबाट भएको निर्देशनअनुसार पार्टीमा छलफल भइरहेको छ । अहिले नै निर्णय भने भइसकेको छैन ।’

यता, नेकपा एमालेले पनि ११ बजेपछि बैठक बस्ने तयारी गरेको छ । तर, मुख्यमन्त्रीलाई विश्वास दिने या नदिने भन्ने विषयमा केही निर्णय भइनसकेको एमाले उपसचिव एवम् सामाजिक विकास मन्त्री टेकराज पछाईले जानकारी दिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा माओवादीका शर्मा मुख्यमन्त्री बनेका थिए ।

कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक-एक सांसद छन् । प्रदेशसभा बैठक दिउँसो ३ बजे बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर