राहदानी विभागको टोली पोर्चुगलमा, लिस्बनमा एक महिने शिविरबाट पाउनेछन् ५ हजार नेपालीले पासपोर्ट – Nepal Press

राहदानी विभागको टोली पोर्चुगलमा, लिस्बनमा एक महिने शिविरबाट पाउनेछन् ५ हजार नेपालीले पासपोर्ट

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली २९ मार्चमा पोर्चुगल आएर काम थालेको छ ।

पोर्चुगलमा राहदानी अभावमा धेरै नेपालीले दु:ख पाएको गुनासोपछि निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौड्यालले घुम्ती टोली पठाएर सम्बन्धित ठाउँबाटै वितरणको व्यवस्था मिलाउने निर्णय गरेअनुसार विभागको टोली त्यहाँ पुगेको हो ।

विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा अधिकृत रञ्जिता दाहालको नेतृत्वमा यशोदा अधिकारीसहितको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, लेखा संयोजक विशाल आचार्य, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल, उपाध्यक्ष सरिता शर्मालगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा दिन सुरू गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो । बुधबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए ।

यसैगरी दोश्रो दिन विहिबार २९ जनाको दरखास्त सङ्कलन भएको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले बताए ।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।

झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आगामी अप्रिल २५ सम्म शनिबारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *