वैशाख १८ देखि तातोपानी नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन कूटनीतिक वार्ता – Nepal Press

वैशाख १८ देखि तातोपानी नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन कूटनीतिक वार्ता

काठमाडौं । सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको हो ।

सहमतिअनुसार हाल चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका आगामी वैशाख १८ गतेदेखि पूर्णरुपमा पहिले जस्तै सुचारु हुने छ । नेपाल-चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकपछि जारी विज्ञप्ति अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सूचारु हुने भएको छ ।

सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुबोधको राजनीतिक र कुटनीतिक पहलकदमीले नाका सुचारु हुने पक्का पक्की भएको हो । नाकाको पूर्ववत् सुचारुको नारा लिएर चुनाबी मैदानमा होमिएका सापकोटाले निर्वाचित भए लगत्तै यसका लागि चौतर्फि प्रयत्न गरेका थिए ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले वार्ता टोलीको नेतृत्व गरेका थिए ।

सो बैठकमा सीमा पारी व्यापार र जनताबीचको आवतजावतलाई अधिकतम स्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा दुवै पक्षले २०२३ अप्रिल १ (१८ चैत २०७९) गतेदेखि रसुवागढी र केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता–जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति गरेका छन् । तातोपानी र झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन मे १, २०२३ (१८ वैशाख २०८०) देखि सूचारु हुनेछ ।

छलफलमा नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लाहरूमा बसोबास गर्ने मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका थिए ।

नेपालको प्रमुख व्यापारिक तातोपानी नाका २०७२ साल वैशाख १२ को भूकम्प पछि बन्द भएको थियो । त्यसपछि चुनावी एजेण्डा बनाएका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा बन्द नाका खुलाइएको थियो । कोभिड १९ को संक्रमण पछि पुनः बन्द भएको नाका लामो समयपछि सिमित आयातसँगै एकतर्फि मात्रै खुलेको छ भने नागरिक आवतजावत गर्न प्रतिवन्ध छ ।

नाका पूर्ववत् सूचारु गर्न वर्तमान सांसद माधव सापकोटा सुबोधले निर्वाचित भएलगत्तै पुस ५ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर ज्ञापन पत्र बुझाउने कार्यको नेतृत्व गरेका थिए ।

उनले फागुन १२ गते संसदमा विशेष समय लिएर नाका खुलाउने विषयमा गम्भीरता देखाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । नयाँ सरकार गठन पछि परराष्ट्र मन्त्रालय र कुटनीतिक नियोग मार्फत प्रयत्न गरिएको थियो । जनप्रतिनिधिको ध्यानाकर्षण पछि सरकारले नाका पूर्ववत सञ्चालनका लागि सचिवस्तरीय वार्ताको पहल गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर