महिला खेलाडीहरुलाई व्यक्तित्व विकास र डाइनिङ संस्कारबारे प्रशिक्षण – Nepal Press

महिला खेलाडीहरुलाई व्यक्तित्व विकास र डाइनिङ संस्कारबारे प्रशिक्षण

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुले खेलसँगै आफ्नो व्यक्तित्व र खानपानको शैलीमा उचित ध्यान दिनुपर्ने बताएका छन् ।

खेलाडीहरु देशको एम्बेसडर भएकाले उनीहरुको व्यक्तित्व, खानपानको शैली र संस्कारले देशको पहिचान र प्रतिष्ठा झल्काउने उनको भनाइ छ ।

खेल क्षेत्रमा विशेष योगदान गर्ने महिला खेलाडीहरुको सम्मान तथा आगामी एसियन खेलको तयारीमा रहेका महिला खेलाडीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ओलम्पिक कमिटीको भवनमा बुधबार आयोजिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका कार्यक्रमले खेलाडीहरुको वृत्ति विकास र प्रदर्शनमा समेत सकरात्मक प्रभाव पार्ने बताए ।

हस्पिटालिटी र पर्यटन क्षेत्रमा विशेषज्ञ सेवा दिँदै आएको हस्पिटालिटी गाइडसँगको सहकार्यमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटीसँग आवद्ध २५ भन्दा बढी खेलकुद संघबाट करिब ५० भन्दा बढी महिला खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको उपस्थिति थियो ।

खेलाडीहरुले कति खाने र कसरी खाने भन्नेबारे नजान्दा अन्तर्राष्ट्रिय जगतमा देशको चिनारीमा नराम्रो इमेज बन्ने गरेको उनले बताए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले आगामी दिनमा ओलम्पिक कमिटीले एसियन गेमलाई लक्षित गरी सबै संघमा आवद्ध खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई व्यावसायिक अनुशासन, व्यक्तित्व विकास र खानपानको संस्कार विषयक प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको वुमेन एण्ड स्पोर्ट्स कमिसनकी अध्यक्ष ज्योति राणाले खेलाडीहरुलाई उचिन खानपान, डाइनिङ संस्कार र व्यक्तित्व विकासबारे सही ज्ञान नहुँदा विदेशमा कतिपय अवस्थामा ग्लानिबोध हुने गरेको र त्यसले उसको खेल प्रदर्शनमा समेत असर गर्ने गरेको अनुभव सुनाइन्।

यस प्रशिक्षणबाट खेलाडीहरुमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै उनले आफूले सिकेको ज्ञान र संस्कार अन्य खेलाडी र घरपरिवारमा समेतमा बाँड्न सुझाव दिइन् ।

हस्पिटालिटी र पाककलाका क्षेत्रमा विशेष अनुभव हासिल गरेका विज्ञ प्रशिक्षकहरु रुपेश श्रेष्ठ, सेफ भावी खनाल र मोडेरेटर एवम् हस्पिटालिटी गाइड्सका कार्यकारी निर्देशक सुराच प्रसाईंले खेलाडीहरुको व्यावसायिक विकास र डाइनिङ संस्कारका विषयमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याएबापत २ जना महिला खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर