पर्यटनमन्त्रीले ट्वीटरमा सोधेको प्रश्नमा सोविताले संसदबाट दिइन् जवाफ- हवाइ क्षेत्र सुरक्षित बनाउन सुझाव – Nepal Press

पर्यटनमन्त्रीले ट्वीटरमा सोधेको प्रश्नमा सोविताले संसदबाट दिइन् जवाफ- हवाइ क्षेत्र सुरक्षित बनाउन सुझाव

काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले आज एउटा ट्वीट गर्दै सुझाव मागेका थिए- नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्ला ?

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले पर्यटनमन्त्रीलाई सुझाव दिएकी छन् तर ट्वीटरबाट नभएर सार्वभौम संसदबाटै । उनले नेपालको पर्यटन उद्योगलाई उकास्न उड्ययन क्षेत्र सुरक्षित हुनुपर्नेमा जोड दिइन् । उनले हवाई क्षेत्र सुरक्षित रहेको सन्देश विश्व बजारमा पुर्याउन नसकेको खण्डमा नेपालको पर्यटन उद्योग नै धराशयी बन्ने चिन्ता व्यक्त गरिन् ।

समाचारहरुलाई उधृत गर्दै गौतमले नेपालमा हालसम्म ६० वटा जहाज दुर्घटना भएको र ८९७ जनाको निधन भएको तथ्यांक प्रस्तुत गरिन् ।

‘चाहे त्यो केही समय अगाडि मुस्ताङमा भएको जहाज दुर्घटना होस् या पोखराको होस्, विमानमा सवार सबैको कहालीलाग्दो मृत्युले आफुले जहाज चढ्ने बेलादेखि उडान अवधिभर ‘केही हुने हो कि’ भन्ने एक किसिमको डर हामी सबै नेपालीको मनमा बस्ने गर्छ’, उनले भनिन् ।

समय समयमा भएका भयावह विमान दुर्घटनापछि बनेका छानविन समितिका प्रतिवेदनलगायतका विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरु हवाई क्षेत्र सुधार गर्न दिएका सुझावहरु कार्यान्वयन हुन नसकेको गौतमले बताइन् । हाल नागरिक उड्ययन प्राधिकरणले हवाई उड्ड्यन नियमित गर्ने र विमानस्थल तथा हवाइ ट्राफिकको व्यवस्थापन गर्ने दोहोरो कार्य गर्दै आएकोमा स्वार्थको द्वन्द्व उत्पन्न भएको हुन सक्ने उनको आंकलन छ ।

‘नेपालको सन्दर्भमा नियमनकारी संस्था विमानस्थल सञ्चालन, विमानस्थल आयोजना तथा पूर्वाधार विकास आदिको क्षेत्रमा बढी केन्द्रित हुँदा नियमनकारी जिम्मेवारी चै ओझेलमा पर्न गएको देखिन्छ’, गौतमले भनिन् ।

उनले नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक यथासिघ्र प्रतिनिधि सभामा पेश गर्न माग गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर