प्रधानमन्त्रीले आजै एकजना मन्त्रीको नाम मागेपछि नेकपा एसको आकस्मिक बैठक बस्दै – Nepal Press

प्रधानमन्त्रीले आजै एकजना मन्त्रीको नाम मागेपछि नेकपा एसको आकस्मिक बैठक बस्दै

वान टु वान वार्तामा प्रचण्डले दिए भौतिक पूर्वाधार र वन मन्त्रालय, माधव नेपालले मागे भौतिकसहित श्रम र कृषि मन्त्रालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकजना मन्त्रीको नाम भने पनि आजै दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

आज बिहान बालुवाटारमा गठबन्धनको बैठकपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच एक्ला एक्लै छलफल भएको थियो । त्यस क्रममा नेपालले ३ मन्त्रालयमा अडान कायम राखेपछि प्रधानमन्त्रीले आज बेलुकासम्म एकजनाको भने पनि नाम दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीले नेकपा एसलाई ३ मन्त्री दिन सकारात्मक भए पनि सबैलाई बाँड्दा २ मन्त्रालयभन्दा माथि जान नसकिने बताएका छन् । आजै एकजना मन्त्रीको नाम दिन आग्रह गरेपछि नेकपा एसको सचिवालय बैठक बोलाइएको छ ।

सचिवालयमा छलफल गरेर एकजनाको नाम आजै पठाइने नेकपा एसका एक नेताले बताए । स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

नेकपा एसबाट तीन मन्त्रालय पाउँदा डा. बेदुराम भुसाल, प्रकाश ज्वाला र भानुभक्त जोशी मन्त्री बन्ने भएका छन् ।

आजै एकजनाको नाम दिँदा कसको पठाउने भन्नेबारे सचिवालयबाट टुंगो लगाउने भनेर नेपाल बालुवाटारबाट पार्टी कार्यालयतर्फ लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर