भोजपुर गोल्डकप : आयोजक टीम फाइनलमा – Nepal Press

भोजपुर गोल्डकप : आयोजक टीम फाइनलमा

भोजपुर । स्थानीय टुँडिखेलमा सञ्चालन भइरहेको छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आयोजक भोजपुर फाइनलमा प्रवेश गरेको छ । डाँगीहाट युथ क्लब मोरङलाई ट्राइ ब्रेकरमा हराउँदै भोजपुर ८-७ गोलको अन्तरले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको नवौं मिनेटमा डाँगीहाटका विशाल पाण्डेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ३५ मिनेटमा आयोजकका रेमन उदासको गोलसँगै खेल बराबरीमा पुगेको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोल बराबरीमा खेल टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

ट्राइब्रेकरमा भोजपुरका खेलाडीहरू विजय भुजेल, रेमन उदास, राम तामाङ, प्रविण राई, लक्ष्मण तामाङ, विवेक राई, सन्तोष तामाङ र गोल रक्षक धिरज मगरले गोल गरेका थिए । त्यस्तै मोरङका खेलाडीहरू विवेक राई, रोशन धिमाल, प्रविन राई, धिरेन विष्ट, रोमन भुजेल, सुवास तामाङ, विनोद राईले गोल गरे ।

खेलको म्यान अफ द म्याच आयोजक टीमका गोल रक्षक धिरज मगर भएका छन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल बुधबार गोर्खा व्याइज रुपन्देही र क्यामरुनबीच हुनेछ ।

भोजपुर फुटबल संघको आयोजनामा भइरहेको प्रतितियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *