मिटरब्याजको समस्याविरुद्ध संयुक्त रूपमा लड्ने मधेसका मुख्यमन्त्री यादवको घोषणा – Nepal Press

मिटरब्याजको समस्याविरुद्ध संयुक्त रूपमा लड्ने मधेसका मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटर ब्याजको समस्या राष्ट्रिय समृद्धिको बाधक रहेको भन्दै सो विरुद्ध संयुक्त रूपमा लड्ने बताएका छन् ।

मुख्यमन्त्री यादवले आज विज्ञप्ति जारी गरेर मिटर ब्याजको विरुद्धमा काठमाडौंमा जारी आन्दोलनमा समर्थन जनाउँदै सहयोग गर्ने घोषणा गरेका हुन् ।

मधेसबाट मिटर ब्याजको समस्या उठे पनि यो समस्या देशकै रहेको भन्दै मुख्यमन्त्री यादवले एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिएपनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको उल्लेख गरेका छन् ।

‘शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्त रुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ’, उनले भनेका छन्, ‘जनताले न्याय मागिरहेका छन् न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रूपमा ऋण प्रवाह हुनुपर्दछ ।’

केन्द्र सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको मुख्यमन्त्री राउतले स्वागत गरेका छन् ।

विदेश जान वा अध्ययन गर्न वा अन्य भैपर गर्जो टार्न ऋण खोज्ने नागरिकहरूलाई मिटर ब्याजीहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर