रुरु धाम पुगे ओली, सम्मानमा स्थानीयको खचाखच (तस्बिरहरु) – Nepal Press

रुरु धाम पुगे ओली, सम्मानमा स्थानीयको खचाखच (तस्बिरहरु)

रूपन्देही । मंगलबार बिहानैदेखि गुल्मीको रुरु धाममा अस्वभाविक चहलपहल छ । रिडीबजार क्षेत्रका घरघरमा तामाका गाग्रीहरुमा जलसहित फूलले सजाइएको थियो । रुरु धाम वरिपरीका जनसमुदाय र सर्वसाधारण बजार क्षेत्रमा झरेका थिए । स्थानीय एमाले कार्यकर्ताहरु कार्यक्रम व्यवस्थित बनाउन व्यस्त थिए ।

प्रहरी प्रशासन बजार क्षेत्रमा बाक्लै खटिए । ११ बज्दा नबज्दै दर्जनभन्दा गाडीहरु बजार क्षेत्रमा प्रवेश गरे । रुरुक्षेत्र गाउँपालिका वडा न १ को वडा कार्यलयदेखि रिडी, च्यूरेक, भट्कुवा, ग्वादी, स्याङ्जाको कालीगण्डकी, पाल्पाको अर्गली क्षेत्रका सयौं सर्वसाधारण, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, एमालेका जिल्ला तथा स्थानीय नेताहरु हातमा फुलमाला लिएर रिडीबजारमा पुगेका नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भव्य स्वागत गरे ।

मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत गुल्मीमा आएका ओली सोमबार सदरमुकाम तम्घासमा बृहत कार्यकर्ता भेला सकेपछि मंगलबार रिडीबजार आएका हुन् । एमाले अध्यक्ष ओलीलाई एसियाकै तीनमुखे पुलमा तीन तिरबाट तीन जिल्लाका सर्वसाधारण तथा पार्टी कार्यकर्ताहरुले स्वागत अभिनन्दन गरेका छन् ।

रुरु क्षेत्र गाउँपालिका वडा नं १ का वडाध्यक्ष नवराज विकले स्वागतसँगै रुरुधामको समग्र विकासका लागि लिखित निवेदन समेत ओलीलाई बुझाएका छन् भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका उपाध्यक्ष सावित्री कोईराला ,पाल्पाको तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष शोभाखर भट्टराईले तिनमुखे पुलमै एमाले नेता ओलीलाई स्वागत गरेका थिए ।

पूर्वप्रधानमन्त्री ओलीले मँगलबार तिनमुखे पुलको अवलोकन गरेका छन् भने रुरुधामको पवित्र धार्मिक हृषिकेश मन्दिरमा र मन्दिर परिसरमा रहेका अन्य मठमन्दिरको समेत दर्शन अवलोकन गरेका छन् ।

ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य ,एमाले उपमहासचिव प्रदीप ज्ञवाली ,एमाले सचिव छविलाल विश्वकर्मा ,एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरेलगायत एमाले नेताहरु स्वागतका लागि पुगेका थिए ।

तस्बिर : ओलीकाे सचिवालय

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *