राप्रपा पदाधिकारी बैठक- उपचुनावका लागि फिल्ड कमाण्डर तोकिए – Nepal Press

राप्रपा पदाधिकारी बैठक- उपचुनावका लागि फिल्ड कमाण्डर तोकिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वैशाख १० गते हुने उपनिर्वाचनको लागि फिल्ड कमाण्डर तोकेको छ । सोमबार केन्द्रीय पदाधिकारीको बैठकले उपनिर्वाचन हुने तनहुँ-१, चितवन-२ र बारा-२ मा राप्रपाले आफ्नो उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता एवं उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनले पार्टीको केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी २०८० बैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरी तय गरिएको जानकारी दिए ।

बैठकले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समीक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्नेसमेत निर्णय गरेको छ।

आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तीव्र बनाएर २०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको उनले बताए । पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्लाबाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने र खटिने नेताहरूको कार्यक्षेत्र अध्यक्ष राजेन्द्र लिङ्देनले तोक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर