दुर्गेश थापालाई ‘बङ कि बङ पिट्छु’ भन्ने ‘ह्यान्सी ब्रो’ आफैं पिटिएपछि… – Nepal Press

दुर्गेश थापालाई ‘बङ कि बङ पिट्छु’ भन्ने ‘ह्यान्सी ब्रो’ आफैं पिटिएपछि…

काठमाडौं । आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो ।

म्युजिक भिडियो खेल्ने कलाकारहरु टोखाको भुखेलमा शनिबार पिकनिक गएका थिए । त्यसमा रिदम पनि पुगेका थिए । बेलुकापख खाना खाइसकेपछि दुर्गेश र रिदमबीच झडप भएको हो । दुर्गेशले टिकटकमा आफूविरुद्ध जथाभावी बोलेको भन्दै थर्काएको र त्यही क्रममा आफूलाई हातपातसमेत गरेको रिदमको आरोप छ ।

उनले भनेका छन्, ‘म खाना खाएवरी एकजना दाईसँग कुरा गरेर बसिरहँदा दुर्गेश थापा आएर ह्यान्ड सेक गरे । एकछिन नियालेर हेरे अनि, ‘तँ नै होइन ह्यान्सी भन्ने ?’ भन्दै मलाई धकेल्दै घाँटीमा अँठ्याए । त्यसपछि मलाई अवि रायमाझी र रोसन सिंहले मलाई पिटे । दुर्गेश थापाले मलाई लडाएर लात्तिले हाने । मेरो सुनको चेन पनि लुछे । मेरो डेढ तोलाको चेन हरायो । त्यो अब दुर्गेशले तिर्नुपर्छ ।’

ज्यानै मार्ने नियतले कुटपिट भएको रिदमको दावी छ । यद्यपि उनको शरीरमा गम्भीर चोट भने छैन । उनले आफ्नो खुट्टाको छाला दर्फरिएको र ओठको भित्री भागमा घाउ भएको बताएका छन् ।

दुर्गेशले भने लफडा भएको स्वीकारे पनि आफूले हात नहालेको दावी गरे । नेपाल प्रेससँग कुरा गर्दै रिदमले आफूविरुद्ध मनपरी बोल्दै आएको विषयमा सोधेको बताए ।

‘राम्ररी कुरा नबुझीकन मेरो विषयमा किन जथाभावी बोलेको भनेर सम्झाउन खोजेको थिएँ,’ दुर्गेशले भने, ‘त्यही बेला पछाडिबाट कसले हात हाल्यो मलाई थाहा भएन । उसले अरुलाई पनि मनपरी भनेको रहेछ ।’

यो घटनाको जरो चाहीँ पल शाह प्रकरणसँग जोडिएको छ । पल प्रकरणमा दुर्गेश पनि जोडिएपछि रिदमले उनलाई टिकटक लाइभमा गालीगलौज गरेका थिए । युट्यूवको एउटा अन्तरवार्तामा उनले दुर्गेशमाथि आक्रमण गर्ने धम्कीसमेत दिएका छन् । त्यस अन्तरवार्तामा रिदमले भनेका थिए, ‘म उसलाई चिन्दा पनि चिन्दिनँ । दुर्गेश थापा भन्या को हो मैले अहिलेसम्म उसको गीत पनि चिन्या छैन ।’

त्यसपछि युट्यूवरले सोधेका छन्, ‘भोलि तँ मलाई नचिन्ने ? भन्दै दुर्गेशले हात हाले भने के भनेर सम्झाउनुहुन्छ ?’ ‘एक म मलाई हात हाल्नका लागि कुनै माइकालालले आँट गर्नु सपनाजस्तै हो । मेरो हात बाँसका ठुटा हो र ? एक्सनमा कोही घाइते हुन्छ, कसैले कसलाई कुच्याउँछ, के के हुन्छ हुन्छ । उहाँलाई सम्झाउने किन ? माँ कसम छ नि, यति कुरा भन्छु… उहाँमात्र नभएर जोसुकै सेलिब्रिटी होस, गल्ति गर्नेलाई सम्झाउने होइन, पहिले बङ कि बङ कुट्ने हो अनि सम्झाउने हो ।’

रिदमको दुर्गेश, रोसन र अविविरुद्ध उजुरी दिएपछि महाराजगञ्ज प्रहरी वृत्तले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । दुर्गेशले आफू म्युजिक भिडियो सुटिङमा रहेकाले १–२ दिनमा आउने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर